प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Spread the love

रौतहतको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।नगरसभाबाट बजेट स्वीकृत नगराई एक गैरसरकारी संस्था (एनजीओ)का नाममा चेक काटी उनीहरूले नौ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अख्तियारको आरोप छ । उनीहरूविरुद्ध मंगलबार (मंसिर १६) अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्ति तथा संस्थामा कटहरिया नगरपालिकाका तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, तत्कालीन सहायकस्तर पाँचौँ रामनरेशप्रसाद यादव, तत्कालीन सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, तत्कालीन खरिदार कौशलकिशोर चौधरी, तत्कालीन खरिदार छोटेलाल मिश्र, सरिता फाउन्डेसन र सरिता फाउन्डेसनका निर्देशक सरिताकुमारी साह छन् ।आर्थिक वर्ष २०७७/७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउन्डेसनका नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।उनीहरूले मिलेमतोमा नौ लाख ९८ हजार ९२१ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । मुद्दामा उनीहरूसँग जनही नौ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो मागदाबी गरिएकाे छ ।