बिचौलियाले कालोबजारी गरे कि अनुगमन गर्ने अधिकारी माैन ?

Spread the love

यो प्रश्नको हिउँदे तरकारीको सिजन हो । सिजनमा तरकारीको भाउ सस्तिन्छ । तर, यसपालि तिहारदेखि महँगिएको हरियो तरकारीको मूल्य मंसिर आधाआधी लागिसक्दा पनि झन् अकासिँदै छ । आखिर के कारणले महँगियो तरकारी ? किसानले बारीमै भाउ बढाउँदा उपभोक्तालाई महँगो पर्न गयो कि बिचौलियाले कालोबजारी गरे ? यो प्रश्नको जवाफ खोज्न हामी कालीमाटी तरकारी होलसेल बजार र उपत्यकाका खुद्रा पसलमा मात्रै होइन, काठमाडौंमा धेरै तरकारी पठाउने काभ्रेका नाला, टुकुचा र पाँचखालदेखि मकवानपुरको पालुङका किसानको बारीसम्मै पुग्यौँ । काठमाडौंका उपभोक्ताको भान्सामा पुग्दा तरकारीको भाउ किसानले बेच्दाभन्दा आठ गुणा (७००%) सम्म महँगो भएको भेटियो ।हरियो फर्सीको किसान र उपभोक्ता भाउमा पनि फराकिलो अन्तर छ । टुकुचाकै संकलन केन्द्रमा श्रेष्ठले किसानसँग प्रतिकेजी २० रुपैयाँका दरले हरियो फर्सी किनिरहेका थिए । तर, काभ्रेको टुकुचाबाट कालीमाटी होलसेल बजार हुँदै काठमाडौंको टुकुचा बजारसम्म आइपुग्दा त्यही फर्सीको मूल्य ४०० प्रतिशत महँगिएको छ । अर्थात् उपभोक्ताले प्रतिकेजी १०० रुपैयाँमा किन्नुपरेको छ ।बनेपा– ४, नाला बजारस्थित तरकारी संकलन केन्द्रका सञ्चालक कुमार श्रेष्ठले किसानसँग लौका प्रतिकेजी २० रुपैयाँको दरले खरिद गरेको बताए । तर, बुधबारै त्यही लौकाको मूल्य कालीमाटी होलसेल बजारको दररेट बुझ्दा ६० रुपैयाँ थियो भने उपत्यकाका खुद्रा बजारमा १२० रुपैयाँमा कारोबार भएको पाइयो । किसानले बेचेको मूल्यभन्दा उपभोक्ताले तिरेको मूल्य ५०० प्रतिशतले धेरै हो ।मुला पनि किसानले पाएको भाउभन्दा ४०० प्रतिशतले महँगिएर उपभोक्ताको भान्सामा पुगिरहेको छ । बारीभरि मुला रोपेका बनेपा– ४, पुलबजारका सुनील श्रेष्ठलाई अरूका मुलाले भाउ नपाएको देख्दा अहिल्यैदेखि सताउन थालेको छ । स्थानीय संकलन केन्द्रमा अहिले प्रतिकेजी १५ रुपैयाँका दरले खरिद–बिक्री भइरहेको उनले बताए । तर, बुधबार साँझ काठमाडौंको टुकुचा तरकारी बजारमा मुला प्रतिकेजी ८० रुपैयाँमा किनबेच भइरहेको थियो । मुलामा किसानले पाएको भाउभन्दा उपभोक्ता मूल्य पाँच गुणाभन्दा धेरै हो ।मकवानपुर पालुङका किसानले बुधबार बिहान स्थानीय संकलन केन्द्रका व्यापारीलाई प्रतिकेजी २५ रुपैयाँका दरले काउली बेचिरहेका थिए । कालीमाटीमा त्यही काउलीको होलसेल मूल्य ६० रुपैयाँ थियो भने खुद्रा बजारमा १२० रुपैयाँका दरले किनबेच चलिरहेको थियो । किसानले बेचेको र उपभोक्ताले किनेको मूल्यमा झन्डै पाँच गुणा अन्तर छ ।काठमाडौंका उपभोक्ताले मूल्यवृद्धिको मार खेप्दा किसान भने मूल्य नपाएकोमा दु:ख पोख्छन् । बिचौलियाको हातमा धेरै पैसा गएकोमा उनीहरूलाई चिन्ता छ । ‘हामीले १६०/१७० रुपैयाँ केजीमा बेचेको अकबरे खुर्सानी बजारमा ३००/४०० रुपैयाँ केजीमा बिक्री हुन्छ,’ थाहा नगरपालिका– ३, बाहुनगाउँका किसान पुष्पराज बर्तौला भन्छन्, ‘काउली, धनियाँ, भेडे खुर्सानी, बन्दा, स्कुस जुनसुकै तरकारीको मूल्य पनि उपभोक्तासम्म पुग्दा कम्तीमा तेब्बरले बढ्छ । तर, हामीले उचित मूल्य कहिल्यै पाउँदैनाैँ । नाफाको ठुलो हिस्सा बिचौलियाले लिन्छ । हाम्रो उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार बिचौलिया र व्यापारीलाई भएसम्म समस्या यस्तै हो । पीडा कसलाई भन्ने, कतिपटक भन्ने ? अब त बोलेर पनि के हुन्छ र भन्ने लागिसक्यो ।’ उनले १८ रोपनी जग्गामा तरकारी खेती गरेका छन् ।थाहा– ३ कै किसान निशा केसी पनि बिचौलियाका कारण उपभोक्ताले तिरेको मूल्यअनुसार आफूहरूले नपाएको गुनासो गर्छिन् । ‘हामीले उत्पादन गरेको तरकारीलाई उपभोक्ताले तिरेको मूल्यसँग तुलना गर्दा हाम्रो हातमा त कति नै पर्छ र ! बजार मूल्यअनुसार नगन्य हो,’ उनले भनिन्, ‘बिचौलिया र व्यापारीका कारण किसान र उपभोक्ता दुवैलाई मार परेको छ । यसमा सरकारले ध्यान दिन आवश्यक छ ।’ उनले आठ रोपनीमा पाँच वर्षदेखि तरकारी खेती गर्दै आएकी छिन् । उनको बारीमा अहिले धनियाँ, भेडे खुर्सानी, बन्दा, काउलीलगायत छ । केही राम्रो भाउ पाइने भएकाले उनी सकेसम्म सहकारीमार्फत तरकारी बिक्री गर्छिन् ।काभ्रेका किसानले त कालीमाटीसम्मको ढुवानी खर्चसमेत व्यहोरेर तरकारी बेच्नुपरेको गुनासो गरेका छन् । बनेपा– ४, पुलबजारका सुनील श्रेष्ठ २५ केजी तरकारीको १०० रुपैयाँका दरले ढुवानी भाडा भुक्तानी गर्ने गरेको बताए । ‘काठमाडौंसम्मको ढुवानी खर्च पनि आफैँले दिनुपर्छ, उक्त रकम हामीले पाउने भाउमै गाडीलाई दिने गरेका छौँ । त्यसैले व्यापारीले दिएको भाउबाट गाडीभाडा घटाउँदा हातमा अझै कम पर्छ ।’कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीदेखि व्यापारीसम्मले भने मागको तुलनामा आपूर्ति कम भएकाले मूल्य महँगिएको दाबी गरेका छन् । ‘मागको तुलनामा आपूर्ति कम हुँदा पनि मूल्य वृद्धिलाई टेवा पुगेको देखिन्छ,’ समितिका निमित्त निर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘असोज र कात्तिकको वर्षाले खेतमा लगाएको तरकारीमा क्षति भयो, नयाँ तरकारी लगाउन पनि ढिलाइ भयो । त्यसैले सिजनमै हिउँदे तरकारी पनि मागअनुसार आपूर्ति भइरहेको छैन ।श्रेष्ठले भनेजस्तै मागभन्दा उत्पादन वा आपूर्ति कम हुँदा मूल्य बढ्नु अर्थशास्त्रको सामान्य नियम नै हो । तर, यो नियम उत्पादक (किसान)सम्म लागू गर्ने याेजना हुनु पर्छ ।