मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्ने
नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिनुभयो । “निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो ।रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिनुभयो । रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
