दुरुपयोग गरिएका ५०६ सुरक्षाकर्मीलाई फिर्ता
पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पार्टीका कार्यकर्ता र सन्न्यासीसम्मका नाममा दुरुपयोग गरिएका ५०६ सुरक्षाकर्मीलाई सरकारले भटाभट फिर्ता गरेको छ । विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै ती सुरक्षाकर्मीको दुरुपयोग गरिएको थियो ।
गृह मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीबाट खटिएका ३७४ र सशस्त्र प्रहरीबाट खटाइएका १३२ गरी ५०६ सुरक्षाकर्मी तानिएका छन् । गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले कार्यविधिभन्दा धेरै खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको बताए ।
‘विशिष्ट व्यक्तिको सुरक्षाका लागि कार्यविधि छ, सोही कार्यविधिमा कसलाई कति सुरक्षाकर्मी खटाउने भन्ने निर्धारण गरिएको छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी पाँच सयभन्दा धेरै सुरक्षाकर्मी फिर्ता भएका छन्, जो कार्यविधिभन्दा धेरै खटिएका सुरक्षाकर्मी थिए ।’
गृहका अनुसार पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका नाममा मात्रै १२६ सुरक्षाकर्मी दुरुपयोग भएका थिए । जसमध्ये नेपाल प्रहरी ७२ र सशस्त्र प्रहरी ५४ रहेका छन् । तथ्यांकअनुसार सबैभन्दा धेरै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाका नाममा सुरक्षाकर्मी दुरुपयोग गरिएका थिए । उनको सुरक्षामा दुरुपयोग भएका नेपाल प्रहरीका २२ र सशस्त्रका १५ गरी ३७ सुरक्षाकर्मी फिर्ता गरिएका छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका नाममा नेपाल प्रहरीका १४ र सशस्त्रका १४ गरी २८ सुरक्षाकर्मी दुरुपयोग गरिएका थिए । उनीहरू फिर्ता गरिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटाइएका यस्ता २५ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । जसमध्ये नेपाल प्रहरी १० र सशस्त्रका १५ छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका नाममा दुरुपयोग गरिएका नेपाल प्रहरीका १७ र सशस्त्रका १ गरी १८ सुरक्षाकर्मी पनि फिर्ता गरिएका छन् । त्यस्तै, अरू पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनालबाट ८ तथा लोकेन्द्रबहादुर चन्द र डा. बाबुराम भट्टराईबाट एक–एकजना तानिएका छन् ।
पूर्वराष्ट्रपति रामवरण यादवको सुरक्षामा नेपाल प्रहरीका एक र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का लागि सशस्त्र प्रहरीका ६ सुरक्षाकर्मी मापदण्डविपरीत खटाएको थियो । उनीहरूलाई सरकारले फिर्ता गरेको छ ।
विगतका सरकारले यी उच्चपदस्थ मात्रै होइन, सन्न्यासीका नाममा समेत सुरक्षाकर्मी खटाएका थिए । गृहको तथ्यांकअनुसार गुरु कमलनयनाचार्य, सद्गुरुदेव अर्चना बाबा, जगतगुरु यतिराज उपाध्याय र डा. रवीन्द्र दासको सुरक्षाका लागि भन्दै एक–एक सुरक्षाकर्मी खटाइएका थिए । कमलनयनाचार्यका लागि सशस्त्रका तथा अन्य सन्न्यासीका लागि नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएका थिए । उनीहरू सबैका सुरक्षाकर्मी कटौती गरिएका छन् ।
पूर्वउपप्रधानमन्त्री र मन्त्रीहरूको सुरक्षाका नाममा पनि ४५ सुरक्षाकर्मी दुरुपयोग गरिएका थिए । तथ्यांकअनुसार सबैभन्दा धेरै सुरक्षाकर्मी पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको सुरक्षामा दुरुपयोग गरिएका थिए । गृहका अनुसार उनको सुरक्षामा सशस्त्र प्रहरीका १२ र नेपाल प्रहरीका एक गरी १३ सुरक्षाकर्मी दुरुपयोग गरिएका थिए । त्यस्तै, मन्त्रीहरूमा सबैभन्दा धेरै सुरक्षाकर्मी दुरुपयोग गर्ने पूर्वगृहमन्त्री रमेश लेखक थिए । सुरक्षाका नाममा मात्रै उनले नेपाल प्रहरीका २२ सुरक्षाकर्मी राखेका थिए । यसबाहेक एनपी साउद, चन्दा चौधरी, सुरेन्द्र पाण्डे, डा. प्रकाशशरण महत, डा. रामशरण महत, सुनील थापा, दीपक गिरी, अर्जुननरसिंह केसी, प्रेम आले, मृगेन्द्रकुमार श्रेष्ठ, पम्फा भुसाल, दिलेन्द्र बडू, देवेन्द्र पौडेल, डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर राणालगायत ९४ पूर्वमन्त्रीका नाममा सशस्त्रका ३० र नेपाल प्रहरीका १२८ गरी १५८ सुरक्षाकर्मी दुरुपयोग भएको गृहको तथ्यांकले देखाएको छ ।
पूर्वराज्यमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वप्रदेशमन्त्री, पूर्वसांसद, पूर्वप्रशासक, उद्योगी र स्थानीय तहका जनप्रतिनिधिको सुरक्षाका नाममा पनि सुरक्षाकर्मी दुरुपयोग भएको भेटिएको छ । तथ्यांकअनुसार पूर्वमुख्यमन्त्रीहरूका लागि ५४, पूर्वराज्यमन्त्रीका लागि १३, पूर्वप्रदेशमन्त्रीका लागि १०, पूर्वसांसदका नाममा २५, पूर्वप्रशासकका नाममा १७, उद्योगीका नाममा २ र स्थानीय तहका जनप्रतिनिधिका नाममा ६ सुरक्षाकर्मी दुरुपयोग भएका थिए । यी सबै फिर्ता गरिएका छन् । त्यस्तै, पूर्वप्रधानन्यायाधीशका नाममा दुरुपयोग भएका चार र सभामुखका नाममा दुरुपयोग भएका चार सुरक्षाकर्मी पनि फिर्ता गरिएका छन् ।
मृतकका नाममा पनि सुरक्षाकर्मी
सरकारले सन्न्यासी मात्रै होइन, मृतकका नाममा समेत सुरक्षाकर्मी खटाएर दुरुपयोग गरेको खुलेको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको १५ वर्ष बितिसक्दा पनि उनकै नाममा सशस्त्रका एक सुरक्षाकर्मी खटाएको गृहको तथ्यांकमा उल्लेख छ । त्यस्तै, दिवंगत भइसकेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सुरक्षाका नाममा पनि सशस्त्रका एक सुरक्षाकर्मी परिचालन गरिएका थिए । खड्काको ०७४ मै मृत्यु भएको थियो । दुवै मृतकको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई वर्तमान सरकारले फिर्ता गरेको छ ।
गृहका सूचना अधिकारी आचार्यले भने, ‘खुमबहादुर खड्काको नाममा त थाहा भएन, तर कृष्णप्रसाद भट्टराईको नाममा भने सुरक्षाकर्मी परिचालन भएको रहेछ । ललितपुरको बाडेगाउँमा उहाँको आश्रम रहेछ । सोही आश्रममा ती सुरक्षाकर्मी खटिने गरेको सूचना प्राप्त भयो, अहिले फिर्ता गरिसकिएको छ ।’
पार्टी कार्यकर्ताका नाममा पनि थिए सुरक्षाकर्मी
राजनीतिक दलका कार्यकर्तालाई समेत सुरक्षाकर्मी उपलब्ध गराएर दुरुपयोग गरेको भेटिएपछि सरकारले फिर्ता गरेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र २(क)बाट ०७९ मा चुनाव उठेका बिक्रमसिंह थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । उनी पछिल्ला दिन कांग्रेसबाट राजनीति गर्दै आएका छन् । उनको सुरक्षाका नाममा नेपाल प्रहरीका एक सुरक्षाकर्मी परिचालन गरिएको थियो । कांग्रेसकै केन्द्रीय सदस्य तथा पूर्वपत्रकार अजयबाबु सिवाकोटीको सुरक्षाका लागि पनि नेपाल प्रहरीका एक सुरक्षाकर्मी खटाइएको थियो ।
कार्यविधिअनुसारका सुरक्षाकर्मी यथावत्
गृहका अनुसार अहिले कार्यविधिभन्दा धेरै खटिएका सुरक्षाकर्मी मात्रै फिर्ता गरिएका हुन् । कार्यविधिअनुसार रहने सुरक्षाकर्मी यथावत् नै छन् । सरकारले विशिष्ट व्यक्ति सुरक्षाका लागि विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि नै बनाएको छ । सोही कार्यविधिअनुसार विशिष्ट व्यक्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुँदै आएका छन् । कुन तहका विशिष्ट व्यक्तिका लागि कति सुरक्षाकर्मी खटाउने भन्ने कार्यविधिले नै गरेको र सोहीअनुसार खटिएका सुरक्षाकर्मी यथावत् राखिएको गृहका सूचना अधिकारी आचार्यले बताए ।
‘विशिष्ट व्यक्ति सुरक्षाका लागि कार्यविधि नै बनेको छ । कसलाई कति सुरक्षाकर्मी खटाउने हो, सोही कार्यविधिले निर्धारण गर्छ । त्यसअनुसार खटिएका सुरक्षाकर्मी यथावत् नै छन् । त्यसबाहेक खटिएकालाई मात्रै अहिले फिर्ता गरिएको हो,’ उनले भने । कार्यविधिअनुसार विशिष्ट व्यक्तिका लागि खटाइने सुरक्षाकर्मीको संख्या भने सुरक्षा चुनौतीका कारण गोप्य राख्ने गरिएको आचार्यले बताए ।
पूर्वसुरक्षाकर्मीका नाममा दुरुपयोग गरिएका ३०० भन्दा धेरै सुरक्षाकर्मी भने चलाइएन
सरकारका पूर्वभिभिआइपी र भिआइपीको सुरक्षाका नाममा दुरुपयोग गरिएका सुरक्षाकर्मी फिर्ता गरे पनि पूर्वसुरक्षाकर्मीको सुरक्षाका नाममा खटिएकालाई भने सरकारले चलाएको छैन । गृहका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वपदाधिकारीको सुरक्षाका नाममा मात्रै ३०० भन्दा धेरै सुरक्षाकर्मी दुरुपयोग गरिएका छन् । विशेष गरी उनीहरू घरेलु मजदुर र सवारीचालकका रूपमा खटिँदै आएका छन् । उनीहरूलाई भने गृहले चलाएको छैन । गृह स्रोतका अनुसार दुवै प्रहरी संगठनका पूर्वआइजिपीदेखि पूर्वएसपीसम्मले सुरक्षाकर्मी दुरुपयोग गर्दै आएका छन् ।





