निक्षेप र सम्पत्ति सुरक्षाका लागि हदसम्मको लापरबाही

Spread the love

जनताको अरबौं निक्षेप तथा धितोको रुपमा स्वीकार गरिने गरगहना वा लकरको सुविधा उपलब्ध गराउने बैंकरुले विश्वस्तरीय फायर प्रुफ सेफ(आगोले समेत केही नहुने विशेष खालको बलियो दराज) र त्यस्ता सम्पत्तिको रक्षाका लागि सुरक्षित भल्ट तथा स्ट्रङ रुमको व्यवस्था गरेका हुन्छन् ।  

विश्वमै बैंकहरुले ग्राहकको सम्पत्ति सुरक्षाका लागि त्यस्ता सेफहरु तथा सुरक्षा संरचनामा लाखौं खर्च गरेका हुन्छन् । तर, जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बंैकको शाखामा चाहिँ लुटेराहरुले एउटा सहकारीमा भन्दा पनि सहज ढंगले नगद र सुन लुटेको भनियो ।  यो घटनाको विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरोका एक उच्च अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा गएर अवलोकन गर्दा यो बैंक नेतृत्वले जनताको निक्षेप र सम्पत्ति सुरक्षाका लागि कुन हदसम्मको लापरबाही गरेको थियो भन्ने देखिएको छ ।  ‘सुरक्षा फिचर्स अत्यन्त कमजोर र कम रहेका सामान्य दराजमै सर्वसाधारणको निक्षेप र सुनका गरगहना राखेको पाइयो । घटना जे भयो, त्यो ठीक भएन । तर, यो घटना हुनुमा प्रमुख दोष नेतृत्वको लापरबाही पनि देखिन्छ ।’ ती प्रहरी अधिकारीले भने-‘सरकारी बैंकले यो हदसम्मको लापरबाही गर्नु, यसमा बैंक नेतृत्वले बेलैमा सजगता नअपनाउनु, जनताको निक्षेप र अरु बहुमूल्य सम्पत्तिलाई जोकसैले फोड्नसक्ने सामान्य दराजमै थन्काउनु जस्ता विषयले अनुसन्धानका क्रममा हामीलाई समेत चकित पारेको छ । यस्तो लापरबाही बैंकमा कसरी गरियो होला ? भनेर हामी पनि सोच्न बाध्य बनेका छौं ।’  त्यति मात्र होइन, सो शाखाको सुरक्षाका लागि जडान गरिएको सीसीटिभी समेत निकै गुणस्तरहीन रहेको देखिएको छ । सिसीटिभी फूटेजको स्टोरेज पावर अत्यन्त कम रहेको, स्टोरेज डिस्क रहस्यमय ढंगले गायब पारिएको, सिसीटिभी फूटेज तोडफोड गर्नुअघिसम्मको फूटेजको स्टोरेज समेत हालसम्म फेला नपरेको विषयले घटनाले अर्कै मोड लिनसक्ने सम्भावना बलियो बनाइदिएको स्रोतको दाबी छ ।यहीकारण प्रहरीले यो घटनालाई पछिल्लो समय फरक कोणबाट समेत अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानले केही चकित पार्ने र यो घटनामा ठूलै ट्वीस्ट आउनसक्ने तथ्यतर्फ संकेत गरेको समेत प्रहरी स्रोतको दाबि छ ।

S