सात प्रदेश, नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान दिने

Spread the love

मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र अग्रणी कथाकार भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी मगर भाषाका अग्रणी स्रष्टा रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात,
मैथिली भाषाकी अग्रणी स्रष्टा करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात, किराँती–रोदुङ मातृभाषि अग्रणी स्रष्टा बाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, सामाजिक न्यायका लागि अभियानरत स्रष्टा पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी अग्रणी महिला स्रष्टा शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, तमु साहित्यको प्रवद्र्धनका लागि क्रियाशील स्रष्टा गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।
२०८२ असोज ९ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरुमध्येबाट सो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिने छ ।

पुरस्कृत स्रष्टाहरुबारेः
१. डा. तिर्थबहादुर श्रेष्ठ (वैज्ञानिक स्रष्टा)ः वि.स १९९४ असोजमा काठमाण्डौको महाबौद्धमा जन्मनुभएका स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठ वनस्पतिशास्त्री बैज्ञानिक हुनुहुन्छ । वैज्ञानिक स्रष्टा श्रेष्ठका जलवायु परिवर्तनः बुझौ र बुझाऔँ, नेपाल नखुलेका पाटाहरु, नेपाल अध्ययन (भाग १) भू स्वरुप र हावापानी, नेपाल अध्ययन (भाग २) वन वनस्पती र प्राणी, नेपाल अध्ययन (भाग ३) समाज संस्कृति र प्राकृति, नेपालको जैविक भूगोलको पुनरावलोकन लगायत दर्जन बढी पुस्तक प्रकाशित छन् । यसैगरी उहाँका माउन्टेन टुरिजम एण्ड इनभारामेन्ट इन नेपाल, नेपाल कन्ट्रि रिर्पोट अन वायोलोजिक डाइभरसिटि, फरेष्ट एण्ड भेजिटेसन अफ नेपाल, हिमालयन फलावर्स एण्ड ट्रिज (सहलेखन) लगायत पुस्तकहरु अंग्रेजीमा प्रकाशित छन् । डा. श्रेष्ठको स्थलगत अध्ययन अनुसन्धानमा आधारित कृति डेभलपमेन्ट इकोलोजि अफ द अरुण वेसिन इन नेपाललाई मकालु बरुण राष्ट्रिय निकुञ्ज स्थापनाको प्रस्तावना मानिन्छ । कर्णाली क्षेत्रको पारिस्थितिक प्रणालीको स्थलगत र सैद्धान्तिक अध्ययन पश्चात उहाँले तयार पारेको पर्यावरणीय नक्सा इकोलोजि एण्ड भेजिटेसन अफ नर्थ वेष्ट नेपाल (कर्णाली रिजन) शिर्षकमा २०३९ सालमा प्रज्ञा प्रतिष्ठानबाट पुस्तकाकारमा प्रकाशित छ ।
२. दुर्गालाल श्रेष्ठ (जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा)ः सन् १९३५ को जुलाईमा काठमाण्डौमा जन्मनुभएका विख्यात स्रष्टा दुर्गालाल श्रेष्ठ जनकविको उपाधिबाट समेत सम्मानित हुनुहुन्छ । सात दशकदेखि साहित्यमा अनवरत योगदान गर्नुभएका स्रष्टा दुर्गालाल श्रेष्ठका नेपाली र नेपाल भाषा (नेवारी)मा गीत, गीति नाटक, खण्डकाव्य, कविता र बाल साहित्यमा गरि दर्जनौ कृतिहरु प्रकाशित छन् । झसुका, लिसं, सन्तयाकुशा, सर्ग, पिजा, याकः फल्चा, इन्कलावया पलाःसः आदी गरी नेपाल भाषामा मात्रै उहाँका दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । यसैगरी नेपालीमा इन्कलावको पदचाप, इच्छाको सिमाना, सन्तको छाता, दुर्गालाल श्रेष्ठका कविताहरु समेत गरी दर्जन बढी कविता खण्डकाव्य र गीति नाटकहरु प्रकाशित छन् ।
३. प्रा.चूडामणी रेग्मी (झर्रोवादी आन्दोलनका हस्ती) ः वि.स. १९९३ चैत्र २९ गते संखुवासभाको वानामा जन्मनुभएका स्रष्टा चुडामणी रेग्मीका काव्य, कथा, निबन्ध, हास्यव्याङ्ग्य, भाषा व्याकरण र समालोचना गरी दुई दर्जन बढी कृतिहरु प्रकाशित छन् । नेपाली भाषा साहित्यका अथक साधक पूर्वका मोतिराम उपनामले समेत प्रसिद्ध स्रष्टा रेग्मी झर्रोवादी आन्दोलनका हस्ती हुनुहुन्छ । पहिलो यात्रा, भूमरी, चावी नामक कथा संग्रह, भावना र यक्षको पोखरा प्रवास कविता संग्रह र २२ समालोचना, समालोचनाको बटुलो नामक समालोचनात्मक कृतिहरु प्रकाशित छन् । वि.सं. २०१३ सालमा बनारसबाट बाराणसेय संस्कृत छात्र परिषद्को मुखपत्र छात्रदुतको सम्पादन गर्नुभएका स्रष्टा रेग्मीले झण्डै सात दशक लामो साहित्य यात्रामा दर्जन बढी मुखपत्रको प्रकाशन गर्नुभएको छ त्यसमध्ये जुही प्रकाशनकै ६२ वटा पुस्तकहरु छन् ।
४.डा. गोपाल ठाकुर (भोजपुरी भाषाका अग्रणी स्रष्टा)ः २०१८ साल पुस २७ गते जन्मनुभएका बारा जिल्ला सिम्रौनगढ निवासी स्रष्टा डा.गोपाल ठाकुरका भोजपुरीमा दर्जन बढी कृतिहरु प्रकाशित छन् । स्रष्टा ठाकुर जीवन्त भोजपुरी मजवून, उत्पिडित मधेश आ भोजपुरी र सहज भोजपुरी वर्तनीको अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसैगरी अंग्रेजीमा प्रकाशित भोजपुरी व्याकरणको समेत अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसैगरी उहाँको सहलेखनमा भोजपुरीमा विभिन्न कृतिहरु प्रकाशित छन् ।