लघुकथा/ जमान र पाइन ?गोपाल प्रसाद थपलिया
“हाम्रो गाउँमा पहिरोले धनजनको क्षति गरेको सात वर्ष भयो ! पहिरो गएर धनजनको क्षति बुझ्न हेलिकप्टर चढेर मन्त्रीहरू र कहिले त प्रधानमन्त्री पनि आउन गरेका छन् ! तर अहिले सम्म यो पहिरो जाने ठाउँबाट न त जनतालाई अनेत्र सारिएको छ न त पहिरो रोक्ने केही उपाय गरिएको छ! केही पनि गरिएको छैन !हामी गाउँलेहरू पहिरोले चेपेर मर्नको लागि बाँचिरहेको जस्तो भएको छ !” सुजिताले सुन्दरलाई भनिन् । “हो भन्या !हाम्रो गाँउको बस्तीलाई अन्यत्र सार्ने भनेर सबै जसो मन्त्री र प्रधानमन्त्रीहरूले यही आएर भन्छन ! राजधानी फर्कन साथ बिर्सन्छन ! एक जना प्रधानमन्त्रीले त पन्ध्रदिन भित्र तपाईहरूको सबै समस्याहरू टुंगो लगाउँछु भरेर गएका त्यस्ता पन्ध्रदिन कति बिते उनलाई यहाँको समस्या समाधान गर्ने पन्ध्रदिन अहिले सम्म आएको छैन ! तर यहाँ पहिरोले भने ठूलो जनधनको क्षति गरिसकेको छ, गरिरहेको छ !” सुन्दरले भने । “राहतका लागि आएको मालसमानहरू पनि प्रधानमन्त्री कै नजिकका नेताले बीचबाटोबाटै गायब गरेर अन्तै बेचेर पैसा कमाएको समाचार पत्रपत्रिकाहरूले लेखे तर तिनीमाथि कारवाही भएन ?”सुजिताले भनिन् ।
“हामी जनता पनि उस्तै छौ क्या!? जस्ले पटक पकट झुट बोलेर हामी जनतालाई विश्वासघात गरेको छ हामी तिनैको झुट्टो आश्वासनलाई विश्वास गरेर बस्छौ ! चुनाबमा बारम्बार तिनैलाई भोट दिन्छौ ! अनि कहि हुन्छ हाम्रो समस्याको समाधान !? “सुन्दरले भने ।
“त्यही डाडाघरे जठोलाई हाम्रो पार्टीको मान्छे भनेर चुनाबमा सधैं उसलाई भोट दिएर जिताएर माथि पठाएका छौं ! तर ऊ जनताको मान्छे कहिल्यै भएन ! उसको पनि हाम्रो जस्तै यहाँ झुपडी छ ! तर ऊ आजकल त्यो झुपडीमा कहिल्यै बस्तैन ! अहिले उसले काठमाडौमा बिल्डिङ् बनाइसकेको छ!हामी झुपडी भित्र बस्नेहरू भने वर्षै पिच्छे पहिरो चेपेर मारिनु परेको छ ! हाम्रै सेवाको लागि ऊ चुनिएर माथि पुगेको छ र मोजमस्ति गरिरहेको कुरा हामीले देखिरहेका छौ ! तर हामी उसको अगाडि बिरोध गर्दैनौ ! आफ्नै पार्टीको मान्छे भनेर ! “जमान नभएको मान्छे र पाएन नभएको हतियार “ काम लाग्दैन भन्ने कुरा अब पनि जनताले नबुझे कहिले बुझ्ने होला !?” सुजताले भनिन्