भारतीय महका कारण स्वदेशी उत्पादनको बिक्री ठप्प

Spread the love

मौरीपालक किसान विस्थापित हुने अवस्थाआठ महिनादेखि चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मा पुगेका छन् । भारतीय महले बजार लिएपछि चितवनमा उत्पादन भएको महले बजार पाएको छैन । नेपाली मह बिक्री हुन छाडेको मौरीपालक किसानले बजारको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् । मौरी जोनमा उत्पादन भएको महले गत मङ्सिर महिनादेखि बजार नपाएको मौरी जोनका संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । मौरी जोनभित्रमा उत्पादन भएको करिब दुई करोड रुपियाँ बराबरको मह बिक्री नभएर घरघरमा थम्किएको उहाँले बताउनुभयो । “बैङ्कबाट ऋण लिएर मौरी पालेर उत्पादन गरेको मह बिक्री नभएपछि किसान विस्थापित हुने अवस्थामा पुगेका छन्,” संयोजक पौडेलले भन्नुभयो,“गुणस्तरहीन भारतीय महलाई बजारमा आउन रोकेर नेपाली महले बजार पाउने अवस्था सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ ।” नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिव पौडेलले भारतीय महले गर्दा नेपाली उत्पादनलाई सधैँ समस्या पार्दै आएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका महमा लगानी धेरै हुने, सरकारले अनुदान कम गर्ने र भारतमा त्यहाँको सरकारले उत्पादनका लागि अनुदान धेरै दिने गरेको हुनाले लागत रकम कम भएर सस्तोमा नेपालमा आउने गरेको बताउनुभयो । ३० वर्षदेखि मौरीपालन गर्दै आउनुभएका भरतपुर–९, शरदपुरका विष्णु भुसालले यस वर्ष मह बिक्री नहुँदा करोडौँ रुपियाँ घाटा लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“किसानको विषयमा सरकारले बोलेको छैन ।” प्रधानमन्त्री केषि आधुनिकीकरण परियोजनाका प्रमुख धनबहादुर थापाले नेपाली महको महत्वबारे सर्वसाधारणमा बुझाउन नसक्दा पनि समस्या आएको बताउनुभयो । अब हामी जोन क्षेत्रमा रहेका महको प्रचारप्रसार, ब्रान्डको व्यवस्था, क्यूआर कोड, गुणस्तरीयतामा सुधारलगायतका काममा लागेर बजारमा सुधार ल्याउने तयारी गरिराखेको जानकारी दिनुभयो । उहाँका अनुसार हाम्रो उत्पादकलाई बजारको प्रतिस्पर्धामा उतार्न गुणस्तरीयता र ब्रान्डमा सुधार गर्नुपर्छ । उपभोक्ताले किन नेपाली मह खरिद गर्दैनन् भन्ने कुरा बुझेर बजारमा मह लैजाने उहाँले बताउनुभयो । कार्यालयका अनुसार जोनअन्तर्गत १७५ जना किसानले मौरीपालन गर्दै आएका छन् । मौरीपालक महासङ्घका अनुसार ४२ जिल्लामा मौरीपालक किसान छन् । ती किसानबाट वार्षिक चार हजार टन मह उत्पादन हुँदै आएको छ । नेपालमा आठ हजार टन महको खपतहुने गरेको छ । मौरीपालनमा १४ हजारभन्दा धेरै किसान संलग्न रहेको महासंङ्घले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *