दानबहादुर कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।उनका अनुसार, कार्तिक २७ गतेदेखि लागु हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो ।वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आजै (मंसिर २५ गते) मध्यरातबाट अनिवार्य अवकाश पाउँदै छन् । खापुङको अवकाशसँगै रिक्त हुने पदमा सरकारले कार्कीलाई नियुक्त गरेको हो ।नवनियुक्त कार्की नेपाल प्रहरीको ३३औँ महानिरीक्षक हुन् । उनी यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखका रूपमा कार्यरत थिए ।
