श्रीपञ्चमी पर्वको अवसर पारी श्रुतकृति शत्रुघ्न सदनको शिलान्यास भएको छ ।
पूर्ण चन्द्र चापागाई चितवन /
माडीको प्रस्तावित अयोध्याधाममा श्रीपञ्चमी पर्वको अवसर पारी श्रुतकृति शत्रुघ्न सदनको शिलान्यास भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं पशुपति हिन्दू विश्वविद्यालय स्थापनाका लागि कार्यविधि निर्माण समितिका संयोजक नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङबाट श्रुतकृति शत्रुघ्न सदन (भवन) को शिलान्यास भएको हो ।
बुधबार बिहान ९ बजेको शुभ साइतमा शास्त्रीय विधिपूर्वक मन्त्रोच्चारण र पूजा सहित भवनको शिलान्यास भएको थियो । अयोध्याधाम विकासका लागि तयार भएको वृहत् गुरुयोजना अनुरुप श्रुतकृति शत्रुघ्न सदन निर्माण अगाडि बढेको र अन्य संरचनाहरु समेत गुरुयोजना अनुसार नै क्रमशः निर्माण हुँदैजाने जनाइएको छ ।
अयोध्या रामधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्राज्ञ डा. गुरुङ सहित अयोध्याका खोज अध्येता लोकमणि पौडेल, पूर्व प्रदेशमन्त्री विजय सुवेदी, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेम प्रसाद महतो लगायतको सहभागिता रहको थियो ।