खैरहनी माविको ५५ औं वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न
खैरहनी माध्यमिक विद्यालय माडी नगरपालिका-४ खैरहनीको आयोजनामा विद्यालयको ५५ औं बार्षिकोत्सव तथा अविभावक दिवस आज विद्यालयको प्रांगणमा सम्पन्न भयो । कार्यक्रमको बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलानन्द भुसालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र लेखा शिक्षक सनत प्रसाद लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बागमती प्रदेश सभा सदस्य ढकालले हरेक क्षेत्रको विकासको मुख्य आधार शिक्षा भएको उल्लेख गर्नु हुँदै सामुदायिक विद्यालयहरुको नतिजामा अझै सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावकले अझै मेहनत गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले आफ्नो प्रदेश सभा सदस्यको कार्यकालभर निरन्तर समग्र माडीको शैक्षिक विकासका लागि आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्दता जनाउनुभयो । सो अवसरमा शैक्षिक सत्र २०७९को एसइई परिक्षामा सामुदायिक विद्यालय तर्फ माडी प्रथम हुन सफल प्रनिल न्यौपाने,एसइई परिक्षामा विद्यालयबाट छात्र तर्फ प्रथम हुन सफल रमित भुजेल र छात्र तर्फ प्रथम हुन सफल मेनुका रानाभाटलाई बिशेष सम्मान गरिएको थियो।
त्यसै गरि विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी ,अतिरिक्त क्रियाकलापमा उकृष्ट नतिजा ल्याउने विद्यार्थीहरु संगै विद्यालयका सहायक प्रधानाध्यापक सन्तोष कुमार दाहाल र सहयोगी कर्मचारी अमित कुमार क्षेत्रीलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालयका शिक्षक सुनिल महतोले संचालन गर्नु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास कुमार तिवारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।