मणिपर्वत श्रृङ्खला को उच्चतम टाकुरा सोमेश्वर पहाड
पूर्ण चन्द्र चापागाई नेपालको मध्य दक्षिण तर्फ अवस्थित सुन्दर (स)रिऊ उपत्यकाभित्र अवस्थित माडी नगरपालिका को दक्षिण भागमा पूर्व-पश्चिम लमतन्न रहेको मणिपर्वत श्रृङ्खला अन्तर्गत को उच्चतम टाकुरा सोमेश्वर पहाड (दक्षिणको सगरमाथा, उचाई ८८० मीटर) को उत्तरी जलाधर क्षेत्रभित्र प्राप्त हुने प्राकृतिक शालिग्राम शीला (जीवाश्म पत्थर) लाई सनातन धर्म अनुसार भगवान बिष्णुको प्रथम अवतार एवं आधुनिक जीव वैज्ञानिकहरूको अन्वेषण अनुसार करिब ६ देखि २२ करोड वर्ष पहिले हिमालय पर्वत निर्माण हुनु भन्दा अगाडी टेथिस सागरमा विचरण गर्ने जीवहरू नै जीवाश्म पत्थरको रूपमा रूपान्तरित भएको मानिन्छ।
सामान्यतः शालिग्राम शीला कालीगण्डकी नदीको उद्गमस्थल दामोदर कुण्ड (मुस्ताङ) को साथै जल प्रवाहित क्षेत्रमा पाइन्छ भन्ने रहेकोछ। चितवन जिल्ला, माडी नगरपालिका – ४ मा अवस्थित सहस्रधारा पातालगंगा अर्थात दक्षिणको मुक्तिनाथ क्षेत्रमा विभिन्न प्रकारका शालिग्रामहरू प्रसस्त पाइने भएता पनि बिभिन्न किसिमका समयचक्रमा भएका विडम्बना, अबरोह तथा प्रचार प्रसारको कमि तथा अन्य बिबिध कारणले यस पवित्र स्थल ओझेलमा पर्न गएको छ।
अमेरिका स्थित श्री रामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री’राम संस्था) को वैदिक सनातन शास्त्रीय खोज अनुरुप वाल्मीकि रामायण, अयोध्या माहात्म्य, वराह पुराण एवं स्कन्द पुराणहरूमा उल्लेख भएअनुसार उक्त क्षेत्रमा भगवान बिष्णुका पृय भक्तहरू गज र ग्रहको द्वन्द्वमा शुदर्शन चक्रद्वारा मोक्ष प्रदान गरिएको स्थल माडी नगरपालिका – १, बाल्मिकि धामको आसपास र वाल्मीकि रामायण अनुसार शुदर्शन चक्रको अवतार स्वरुप श्री’राम को कान्छा भाई सत्रुघन माडी नगरपालिका वडा – ९ स्थित अयोध्याधाम मा रहेको कुरा शास्त्रीय अध्ययनबाट प्रमाणित हुन्छ। त्यसैगरी, प्राचिन जीवाश्महरू को अवशेष शालिग्राम शीलाचक्रहरू सहजै प्राप्त हुने स्थल माडी नगरपालिका – ४ स्थित पातालगंगा मुक्तिनाथ क्षेत्र ले नेपाल मात्र नभएर बिश्वकै ऐतिहासिक सभ्यता बोकेको यस स्थानलाई चितवन माडी बरूवामा आफ्नो बाल्यकाल बिताई हाल अमेरिकाको टेक्सास राज्यमा बसोवासरत अध्येता एवं बरिष्ठ ईन्जिनीयर श्री थल’राज पन्तको परिकल्पना र नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला बिभागका निर्देशक मूर्तिकार श्री दिनेश्वर महतोको नेतृत्वमा निर्माण सम्पन्न गरिने विश्वकै सबैभन्दा अग्लो शालिग्राम शीला सहितको चक्रतीर्थ धामको रूपमा बिकास गर्ने अभिप्रायले माडी नगरपालिका – ४ का निर्वाचित वडाअध्यक्ष श्री माधव चापागाँई लगायत स्थानीय सामाजिक अगुवाहरू को सर्वसम्मत निर्णय र माडी नगरपालिका बुद्धिजीवी परिषदका अध्यक्ष श्री भागिरथ बस्यालको अध्यक्षतामा श्री चक्रतिर्थधाम विकास समिति गठन गरिएको छ।
ऐतिहासिक, धार्मिक लगायत प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहेको छ। यसै माध्ययमबाट पर्यटकीय विकासमा टेवा पुर्याई देशले बोकेको आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउनुका साथै हाम्रो सनातन धर्मको पनि संरक्षण र पुरातत्वको जगेर्नाको सोचले सोमेश्वरगढी, दक्षिणी सगरमाथाको फेदिमा रहेको माडी वडा नं ४ को पातालगंगा सहस्रधारा, दक्षिणको मुक्तिनाथ, हरिहर मन्दिर परिसर एवं रेडहिल उद्यान क्षेत्रहरूलाई समेटेर उक्त क्षेत्रमा एक बृहत तथा बिश्वकै सबैभन्दा ठूलो करिब १२ फिट उचाइको शालिग्राम शीला स्थापना गर्नको लागि बृहतशीलाको आधारशिलामा चारैदिशाबाट व्यवस्थित गरी १०८ प्राकृतिक रुपमा पाईएका शालिग्राम शीलाहरूलाई सङ्ग्रहालय बनाई राखिनेछ।
त्यसैगरी, बीचको भागमा कालिगण्डकी क्षेत्रबाट निर्माण गरी ल्याइएको बृहत शालिग्रामलाई स्थापना गरिनेछ। यो सम्पूर्ण काम माडी नगरपालिका – ४ को बिषेश सकृयता, नगरप्रमुख श्री तारा कुमारी काजी महतो र उपमेयर श्री खेम महतोद्वारा माडी नगरपालिकाको लगानी सहित चितवन ३(ख) माननीय साम्सद श्री ठाकुर प्रसाद ढकाल को संरक्षकत्वमा मंसीर ७ गते हरिबोधनी एकादशीका दिनसम्म स्थापना गरी अनावरण एवं उद्घाटन समेत गर्ने उद्देश्य रहेकोछ।
यसरी गरिएको चक्रतिर्थ परियोजनाले समस्त माडीको धार्मिक,सास्कृतिक, आर्थिक, पर्यटकिय, वाताबरणिय बिकास गरि समस्त माडी , चितवन र नेपालकै बिकासमा अतुलनिय टेवा पुर्याउन सक्ने भनाई छ ।