पौडेल राष्ट्रपतिमा निर्वाचित

Spread the love

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित हुनुभएको छ । काठमाडौँमा बिहीबार सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा उहाँले बहुमत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

            गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुनुहुन्थ्यो । उहाँ २०६५ साउन ६ गते राष्ट्रपति निर्वाचित हुनुभएको थियो । २०७२ कात्तिक ११ मा दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी हुनुभयो । उहाँ पुन: २०७४ फागुन २९ मा तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति हुनुभयो ।

            निर्वाचन आयोगका अनुसार राष्ट्रपति पदमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाउनुभयो ।

            नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहीबार नै निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम सार्वजनिक गरि पौडेल राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्यो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचक मण्डलको तत्काल कायम रहेको मत ५२ हजार ६२८ को बहुमत प्राप्त गर्नुभएकाले रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था छ ।

            सांसदकै मत बदर

        कांग्रेसका वरिष्ठ नेता पौडेललाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थन रहेको थियो । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पौडेललाई समर्थन गर्ने निर्णय गर्दा उहाँले ११ दलको समर्थन प्राप्त गर्नुभयो ।

            सङ्घीय संसद्को ३३२ जना सदस्यमध्ये पौडेलले २१४ जनाको मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेम्वाङको पक्षमा सङ्घीय संसद्को ९८ सदस्यको मत पर्यो । सङ्घीय संसद्को एक सदस्यको मत भने बदर भयो । प्रदेश सभातर्फ पौडेलले ३५२ सदस्यको मत पाउनुभयो भने नेम्वाङले १६२ प्रदेश सभा सदस्यको मत पाउनुभयो । प्रदेश सभातर्फ चार जना सदस्यको मत बदर भयो ।

            राष्ट्रपति निर्वाचनका लागि ८८१ सदस्यको निर्वाचक मण्डल रहेकोमा ८३१ सदस्यले मतदान गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व गर्ने सङ्घीय संसद्का १४ र प्रदेश सभाका २८ जना मतदानमा सहभागी भएनन् । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्ने सङ्घीय संसद्का एक र प्रदेशतर्फका दुई गरी तीन सदस्यले मतदान गरेनन् ।

            सङ्घीय संसद्तर्फ प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, वर्षमान पुन र लक्ष्मी महतोले मतदान गर्नुभएन । जसपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भइसकेको छ । जसपाबाट निर्वाचित प्रदेश सभा सदस्य बिन्दु यादवले समेत मतदान गर्नुभएन । यसरी ५० जना सदस्य मतदानमा सहभागी हुनुभएन । पाँच जनाको मत बदर भयो । निर्वाचन ऐनबमोजिम सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

                        पदावधि सुरु

        निर्वाचन आयोगले पौडेल राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बिहीबार नै प्रमाणपत्र प्रदान गरेको छ । यसरी प्रमाणपत्र दिएलगतै पौडेलको राष्ट्रपति पदमा कार्यकाल सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको उपस्थिति थियो ।

          परिणाम घोषणा हुँदा राष्ट्रपति पदका अर्का उम्मेदवार नेम्वाङको उपस्थिति भने सो स्थलमा थिएन । उहाँको निर्वाचन प्रतिनिधि महेश बर्तौलाले निर्वाचित राष्ट्रपति पौडेललाई शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *