शाहको कालो धनको प्रक्रिया अघि बढ्दै
विदेशी रकम अवैध रुपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्द नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सी आईबी) ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको छ ।
विदेशबाट अनाधिकृत रुपमा रकम भित्र्याएको आरोपमा शाहसहित सात जनालाई ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन ब्युरोले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
प्रतिवेदन बुझाउनुअघि सीआईबीले पत्रकार सम्मेलन गरी शाह र उनको समूहले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध गरेको निष्कर्षसहित चारवटा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो । सी आईबीका प्रवक्ता सन्जय थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा मुख्य अभियुक्त पृथ्वीबहादुर शाह, उहाँका भाई विजयविक्रम शाहसहित १३ जना व्यक्तिविरुद्द मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो ।
अमेरिकामा अनलाइनमार्फत ठगी गरी नेपालमा अवैध रकम भित्र्याएको खुलेपछि सीआईबीले अछाम बन्निगढ़ी गाउँपालिका-६ का शाह दाजुभाइ, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाटका रुकमाङ्गत काफ्ले र अछामका रङ्गबहादुर साउदलाई गत पुस २२ गते पक्राउ गरेको थियो । शाहले काठमाडौँको सिफलमा रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालिलगायत दर्जनौं कम्पनीबाट सङ्कास्पद कारोबार खुलेपछि ब्युरोले पक्राउ गरेको थियो ।
ब्युरोले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सम्बन्धित निकायहरुबाट कारोबागरी नेपाललगायत अन्य र गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरु सन्चालन गरेको, अवैध आर्थिक कारोबार गरेको, कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कारोबार गरेको, विभिन्न विदेशी नागरिकको कम्प्युटरमा पहुँच पुर्याई एन्टीभाइरस नवीकरणको नाममा झुक्याएर रकम चोरी गरेको आरोप लगाइएको छ ।
विदेशमा ठगी गरेको रकम विभिन्न कम्पनी तथा व्यक्तिका बैंक खाताहरुमा जम्मा गरी स्रोत लुकाउन अन्य व्यक्तिहरुको नाममा तत्काल रकम ट्रान्सफर गरी ठगी गरेको खुलेको छ । शाहविरुद्द सीआईबीमा ठगीको आरोप लगाउँदै २४ वटा उजुरी दर्ता भएका थिए । शाहको समूहले काठमाडौँ महानगरपालिका-७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पाइएको समेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । ठगी र सङ्गठित अपराधमा शाहसँगै पक्राउ परेका सात जना र फरार रहेका १३ जनाविरुद्द मुद्दा चलाउन सिफारिस गरिएको छ । शाहको समूहले सङ्गठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने विभिन्न कम्पनी खडा गरी ५६ जनालाई ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकी नागरिकलाई एन्टी भाइरस अपडेट, अमेजनको बिल भुक्तानीलगायतका विभिन्न प्रकारका अनलाइन सेवा घरमा पुर्याउने भन्दै शाह र उनको समूहले सङ्गठित रुपमा ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ठगी गर्ने क्रममा कतिपय पिडितको बैंक खातामा अनाधिकृत रुपमा प्रवेश गरी खातामा रहेको रकम चोरी गरी नेपाललगायत अन्य मुलूकमा पुर्याएको खुलेको छ ।