निर्वाचन आचारसंहिता आजदेखि
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागूभएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने बताउनुभयो । यसअघि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा २४ व्यक्ति, संस्था तथा अधिकारी निर्वाचन आचारसंहिताको दायरामा समेटिएका थिए । आयोगका अनुसार नेपाल सरकार र प्रदेश सरकार तथा दुवै निकायका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिले आचारसंहिता पालना गर्नुपर्नेछ । त्यसैगरी सार्वजनिक पद धारण गरेको व्यक्ति, संचार प्रतिष्ठान, सोका कर्मचारी तथा संचारकर्मी र मतदातालाई आचारसंहिता लाग्नेछ ।
निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि छुट्टै संयन्त्र गठन नगरिएको बताउंदै उम्मेदवारका प्रतिनिधिसँग बुधबार छलफल राखिएको जानकारी दिनुभयो । उहाँले आचारसंहिताबारे प्रतिनिधिलाई बैठकमै जानकारी गराउने बताउनुभयो ।
आमनिर्वाचनमा भने अनुगमनकर्ता, निजी तथा गैरसरकारी संस्था, स्थानीय कार्यपालिका तथा सोको सदस्य, विकास साझेदार संस्था, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई समेत आचारसंहिता लागू हुने दायराभित्र समेटिएको थियो ।
आयोगका प्रवक्ता पौडेलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने हैसियत नराख्ने निकाय र व्यक्तिलाई आचारसंहिताको सूचीबाट हटाइएको जानकारी दिनुभयो । उहाँले राष्ट्रपति निर्वाचनको पर्यवेक्षण नहुने, विद्यालय तथा महाविद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको निर्वाचनमा संलग्नता नहुने हुनाले आचारसंहिता लागू नहुने बताउनुभयो । नेपाल सरकारले कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने, दल वा उम्मेदवारले गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने आचारसंहिताले व्यवस्था गरेको हो । आचारसंहिता लागू भएको अवधिमा योजनाको शिलान्यास, उद्घाटन र सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।
निर्वाचन आचारसंहिता, २०७४ अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने व्यवस्था छ । उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा सात इन्च लम्बाइ र सात इन्च चौडाइसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यबस्था छ ।