उम्मेदवार दुई कसले मार्ला त बाजी?

Spread the love
  • देवराज थपलिया

गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ | राष्ट्रपतिका लागि आकाङ्क्षी पाँच जना रहे पनि तीन जनाले प्रस्तावक र समर्थक नपाउँदा दुई जनाको मात्र उम्मेदवारी परेको हो |

            निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि ३ बजेभित्र दुई जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ | फागुन २५ गते हुने मतदानका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले ) बाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो |

            आठ राजनीतिक दलको समर्थनमा ७८ वर्षीय पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको हो | नेम्वाङले उम्मेदवारी दर्ता गराउँदा नेकपा (एमाले) बाहेकको दलको प्रतिनिधित्व थिएन | राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने राष्ट्रपति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अनिणीत छन् | राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका दुवै जना प्रतिनिधि सभा सदस्य हुनुहुन्छ | गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पौडेल तनहुँ -१ बाट र ७० वर्षीय नेम्वाङ इलाम -२ बाट निर्वाचित हुनुहुन्छ |

            नेपाली कांग्रेसका पौडेललाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ), जनता समाजवादी पार्टी, जनमत पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ | पौडेललाई नेपाल समाजवादी पार्टीले पनि समर्थन गर्ने भएको छ |

            कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जसपाका अशोक राई र जनमत पार्टीका अब्दुल खानको प्रस्ताव र लोसपाका अध्यक्ष महन्थ ठाकुर , कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका हितराज पाण्डेको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो | पौडेलले उम्मेदवारी दर्ता गराउनेक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ बानेश्वरस्थित ल्होत्से हल पुग्नुभएको थियो |

            नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएका नेम्वाङको प्रस्तावक र समर्थन बसेका सबैजना नेकपा (एमाले)बाट निर्वाचित सदस्य हुनुहुन्छ | नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ,गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा हुनुहुन्छ | त्यस्तै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा (पार्वती) र अमनकुमार मास्के नेम्वाङको समर्थन हुनुहुन्छ |

दुवै उम्मेदवार पूर्वसभामुख

            राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख हुनुहुन्छ | २०५१ को मध्यावधि निर्वाचनपछिको प्रतिनिधि सभामा रामचन्द्र पौडेल सभामुखमा निर्वाचित हुनुभएको थियो | बहुमतीय प्रक्रियाबाट निर्वाचित हुने पौडेल पहिलो सभामुख हुनुहुन्छ | नेकपा (एमाले)का चन्द्रप्रकाश (सिपी) मैनाली र उहाँबिच सभामुखमा प्रतिस्पर्धा भएको थियो |

            नेम्वाङ २०६२/६३ को आन्दोलनबाट पुनस्थार्पित प्रतिनिधि सभाबाट रुपान्तरित व्यवस्थापिका संसद्सम्म निरन्तर सभाध्यक्ष रहनुभयो | उहाँले २०६३ सालमा पुनस्थार्पित प्रतिनिधि सभामा सभामुख र अन्तरिम व्यवस्थापिका संसद् २०६४ मा सभामुखको जिम्मेवारी सम्हाल्नुभयो | यसैगरी २०६५ र २०७० मा संविधान सभा अध्यक्ष तथा व्यवस्थापिका संसद्को सभामुख हुनुभयो | संविधान जारी भएपछि रुपान्तरित व्यवस्थापिकाले सभामुख चयन नगरेसम्म उहाँले सभामुखको जिम्मेवारीसमेत लिनुभएको थियो |

पाँच आकाङ्क्षी

          राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउन पाँच जना आकाङ्क्षी पुग्नुभएको थियो | पाँचै जनाले मनोनयन दर्ता फाराम लगे पनि दुई जनाको मात्रै उम्मेदवारी दर्ता भयो | निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेघराज आचार्य , राजीराय यादव र लक्ष्मी प्रसादले उम्मेदवारी दर्ता गराउने भन्दै मनोनयन फाराम लैजानुभएको थियो | तर प्रस्तावक र समर्थक नपाएपछि उहाँहरुको उम्मेदवारी दर्ता भएन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *