गुणस्तरमा चुनौतीको थान

Spread the love

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा विश्वबिद्यालयको सङ्ख्या बढ्दै गए पनि उच्च शिक्षाको गुणस्तर कायम राख्न भने चुनौती थपिएको बताउनुभएको छ |

        राजर्षीजनक विश्वविद्यालयको छैटौं वार्षिक सभालाई बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले गुणस्तरको क्षेत्रमा विश्वविद्यालयहरुले आफूलाई अब्बल राख्न सके मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो | “विश्वविद्यालयको सङ्ख्या बढ्दै जानु राम्रो हो | यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ,” उक्त विश्वबिद्यालयको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तर विश्वबिद्यालयको सङ्ख्यात्मक वृद्दीसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ | यस कुरालाई मध्यनजर गर्दै यस विश्वविद्यालयले आफूलाई गुणस्तरको क्षेत्रमा अब्बल साबित गर्नुपर्दछ |”

        विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन सकेमा मात्रै यहाँको जनशक्ति राष्ट्रको विकास र समृद्दिको सारथि बन्न सक्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “यति गर्न सकिएमा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बाहय बजारमा पनि प्रतिस्पर्धा गरी आफूलाई उत्कृष्ट साबित गर्न सक्दछन् |”

        राजर्षिजनक विश्वविद्यालयले विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा जिवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रुपान्तरण गर्न सहयोग पुर्याउने शिक्षाको प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो | ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने सो अवसरमा उहाँले बताउनुभयो |

        राजर्षिजनक विश्वविद्यालय मुलुकको प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था र विश्वासको घोतक भएको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतमा ज्ञान –विज्ञानको क्षेत्रमा समृद्ध भूमिका रुपमा परिचित मधेश प्रदेशलाई पुन: ज्ञान-विज्ञानको केन्द्रका रुपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो |”

        सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका उपकुलपति एवं सम्पुर्ण सभासद्लाई विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्न निर्देशन दिनुभयो | सबैले कुशलतापूर्वक जिम्मेवारी वहन गरे मात्रै विश्वविद्यालयलाई यस क्षेत्रकै एक उत्कृष्ट उच्च प्राज्ञिक संस्थाका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो |

        विश्वविद्यालयहरुले मुलुकको आवश्यकता अनुसार स्तरीय दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय र दक्ष जनशक्तिको खाँचो पूर्ति गर्न सहयोग पुर्याउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ | उहाँले भन्नुभयो, “सरकारको उच्च शिक्षासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ | यस कुरालाई आत्मसात् गरी यस विश्वविद्यालयले सर्वसुलभ मुल्यमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहन आवश्यक छ |”

        राजर्षिजनक विश्वविद्यालयले आफ्नो १५ वर्षे रणनीतिक योजना तयार गरी सोही आधारमा विश्वविद्यालयको प्राज्ञिक क्रियाकलाप तथा भौतिक संरचनालाई अगाडि बढाउन खोजेको प्रति प्रधानमन्त्री प्रचण्डले प्रसन्नता व्यक्त गर्नुभयो | साथै विश्वविद्यालयले स्थापनाको पाँच वर्षको अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधिका विषयहरुमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सन्चालन गरेकोमा पनि उहाँले सराहना व्यक्त गर्नुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *