अव्यवस्थित पार्किङले पैदलयात्रुलाई सास्ती

Spread the love


  • सरस्वती गौतम

रामेछाप सदरमुकाम मन्थलीमा अहिलेसम्म व्यवस्थित पार्किङ स्थल निर्माण हुन सकेको छैन । जसका कारण सानो तर व्यस्त मन्थली बजार क्षेत्रको सडकमा यात्रा गर्ने सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।
पर्किङ व्यवस्थित नहुँदा सवारीसाधन दुर्घटनाको सम्भावना पनि बढाएको छ । मन्थली नगरपालिकाले व्यवस्थित पार्किङ स्थल बनाउन नसक्दा बजार क्षेत्रका मूल सडक नै पार्किङ स्थलमा परिणत भएको छ । बजार क्षेत्रमा जथाभावी मोटरसाइकल पार्किङ हुँदै आएको छ ।
अति व्यस्त रहने मन्थलीको मुख्य बजार क्षेत्रको सडक नै ढाक्ने गरी मोटरसाइकल पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले व्यवस्थित पार्किङको खोजी नै नगरेको मन्थली नगरपालिका(९, पुरानागाउँका सन्तोष श्रेष्ठले बताउनुभयो । सानो सडक तर व्यस्त रहने मन्थलीमा जथाभावी गरिएको मोटरसाइकल पार्किङका बारेमा सरकारी उदासीनता र सरोकारवाला निकायको लापरबाहीका कारण मन्थली बजार झनै अव्यवस्थित बन्दै गएको देखिन्छ उहाँले बताउनुभयो ।
व्यवस्थित पार्किङ बजार क्षेत्रको आधार भूत पूर्वाधार हो तर मन्थली बजार क्षेत्रमा अहिलेसम्म व्यवस्थित पार्किङ बन्न नसक्दा यहाँका पैदलयात्रुसहितका सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । सडक नै ढाक्ने गरी राखिएका मोटरसाइकल पार्किङले यातायातका साधानलाई यात्रु चढाउन तथा ओराल्न नै समस्या हुने गरेको यातायात व्यवसायी अविरल केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्थली बजारको सानो सडक, त्यसमा आधा सडक ढाक्ने गरी मोटरसाइकल पार्किङ हुन्छ । सडक साँघुरो भएका कारण यात्रुलाई बसमा चढाउन र ओराल्न समस्या हुन्छ ।”
मन्थली बजार क्षेत्रमा देवकोटा चोकदेखि कटहर बोटसम्मको मुख्य सडकमा आधा सडक नै ढाक्ने गरी सडकको एकातर्फ मोटरसाइकल पार्किङ हुँदै आएको छ । यो सडकमा जिल्ला ट्राफिक प्रहरीले हप्ता(हप्ता दिनमा मोटरसाइकल पार्किङ गर्ने सडकको साइड परिवर्तन गर्दै आएको छ । जिल्लाकै व्यस्त मन्थली बजार क्षेत्र जिल्ला प्रशासन कार्यालय जाने बाटो, देवकोटा चोकबाट रेडक्रस लाइन हुँदै जिल्ला प्रहरी कार्यालय जाने बाटोमा पनि आधाभन्दा बढी सडकको भाग सवारीसाधानकै पार्किङले ढाकिएको हुन्छ ।
सर्वसाधारण र मन्थली बजार क्षेत्रका सबै व्यवसायीको अनुकूल हुने ठाँउमा व्यवस्थित पार्किङ बनाउन आवश्यक रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव सुरेश उदासले बताउनुभयो । उहाँले भन्नुभयो,“बजार क्षेत्रमा अहिले भइरहेको पार्किङको विषयमा व्यवसायीको मिश्रित प्रतिक्रिया छ । यसलाई ध्यानमा राखेर व्यवसायी र सर्वसाधारणको अनुकूलता हुने गरी व्यवस्थित पार्किङ बनाउनुपर्छ ।”
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली बजारको पार्किङ समस्या समाधानका लागि आफूहरु गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो , “पार्किङको समस्या जटिल छ, यो विषयमा नगरपालिका गम्भीर बनेको छ । उपलब्ध साधन स्रोतको प्रयोग गरेर मन्थलीमा पार्किङको समस्या छिट्टै समाधान गर्नेतर्फ लाग्छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *