प्रेस स्वतन्त्र नै लोकतन्त्रको प्रमुख मुद्दा
लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक शासन प्रणालीमा मात्र प्रेस स्वतन्त्रता सम्भव रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६२ औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संचारजगत पनि लोकतान्त्रिक प्रणालीको पक्षमा उभिनुपर्ने बताउनुभयो । वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्दै पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको पनि उहाँले त्यस अवसरमा बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ,”सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरुले पनि सम्मान र विस्तार गर्नुपर्छ । साथै नागरिकको सुचनाको हकलाई सुनिश्चतताका लागि सेवालाई थप चुस्तदुरुस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ ।”
विश्वमा सुचना र प्रविधिको द्रुतगतिमा विकास भइरहेको कारण संचार माध्यमहरुलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्नु आवश्यक रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
“पछिल्लो दुई दशकमा विश्वमा सुचना प्रविधिको विकास यति तीव्र भएको छ कि सिङ्गो विश्वले यसलाई चौथो औद्योगिक क्रान्तिका रुपमा संश्लेषण गर्दैछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अब सुचना-प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलग रुपमा कायम गर्न सकोस् । यसर्थ २१ औं शताब्दीको आजको विश्वमा सुचना प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ ।”
राससले आफ्नो भौतिक विकाससँगै सुचनामा पहुँच बढाइ संचार माध्यमहरुमार्फत आमनागरिकलाई सुसूचित गर्ने काममा आफूलाई अब्बल रुपमा स्थापित गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले राससले देशका बढीभन्दा बढी संचार माध्यमहरुमार्फत सूचना सम्प्रेषण गरी नागरिकलाई सुचना प्रदान गर्नुपर्ने पनि बताउनुभयो । नागरिकलाई सुचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नुपर्ने मान्यतामा सरकार अडिग रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।”त्यसैले कुनै पनि नागरिकलाई सूचनाबाट वन्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वन्चित गर्नु हो भन्ने मान्यता राखेर राससलगायतले काम गर्नुपर्छ ,” दाहालले भन्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राससले जनशक्ति व्यवस्थापन गर्दै प्रभावकारी सेवा प्रवाहमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । राससले मुलुकभर रहेका आफ्ना स्थानीय जनताका पीर , मर्का र समस्यालाई प्राथमिकतासाथ सम्प्रेषण गर्नुपर्ने शर्माले बताउनुभयो ।राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय राससले प्रदान गर्ने सेवामा विविधिकरण गरिएको बताउनुभयो । राससले गत साउन १ गतेदेखि श्रव्यदृश्य सामग्री प्रसारण सुरु गरेको उहाँले जानकारी गराउनुभयो । तर सरकारको सिमित अनुदान र आफ्नै आम्दानीबाट संस्थालाई खर्च धन्न समस्या भएको उहाँले गुनासो गर्नुभयो ।