लागु औषदका आरोपित पक्राउ पर्ने क्रम तिब्र
-गोपाल कडेल
लागु औषदका आरोपित पक्राउ पर्ने क्रम तिब्र
लागू औषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली नागरिक छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ब्युरो लागूऔषधका मुख्य कारोबारीसम्म पुग्न सफल भएको हो।
ब्युरोका प्रमुख विकासराज खनालका अनुसार पक्राउ पर्नेमा भारतबाट नेपालमा औषधिजन्य लागूऔषध तस्करी गर्ने मुख्य अभियुक्त भारत, विहार मधुवनीका फैज अहमद र नेपालमा थोक बिक्रेताको काम गर्ने सोलुखुम्बु, माप्यदूधकोसी गाउँपालिका-४ का लाक्पा शेर्पा छन् । फैजन नेपालमा लागूऔषधको कारोबारबाट सङ्कलन गरेको रकम लिन आएका बेला सुन्धाराबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी ब्युरोले शेर्पालाई विशेष सुराकीका आधारमा लागू औषधको गोदाम रहेको कामपा २१ दलाछी टोलबाट पक्राउ गरेको हो। ब्युरोले शेर्पाको गोदामबाट २० हजार तीन सय थान लागू औषध बरामद गरेको जनाएको छ । सो परिमाण एकै पटक बरामद भएको हालसम्मकै ठूलो परिमाण रहेको ब्युरोले जनाएको छ। लाक्पा शेर्पा २०७० असार ७ गते हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ । जेलबाट छुटेपछि शेर्पा तीन वर्षयता लागू औषधको कारोबारमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । शेर्पाको साथबाट प्रहरीले लागूऔषध कारोबारबाट सङ्कलन भएको चार लाख ५० हजार रुपियाँसमेत बरामद गरेको छ। उनीहरूसँगै भारतबाट काठमाडौंसम्म ल्याउन सवारीचालकका रूपमा काम गर्ने धनुषा, औरही-३ का रिहासद भन्ने अयान रेजा तथा रेजाबाट मुख्य कारोबारी शेर्पासम्म पुऱ्याउने धनुषा औरही-३, कपटोलकै जाकिर नदाफ धनुषाबाट पक्राउ परेका छन् । त्यसैगरी शेर्पाबाट खरिद गरी बजारसम्म पुयाउन काभ्रेपलाञ्चोक भुम्लु-४ का दीपक तामाङ तथा नुवाकोट-८ का लक्ष्मण बखती पक्राउ परेको ब्युरोले जनाएको छ ।यसैगरी ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ किलो आठ सय ग्राम चरेससहित बैङ्कक उड्न लागेका चार थाई नागरिकलाई समेत नियन्त्रणमा लिएको छ । थाई लाइन एयरलाइन्सको उडानबाट बैङ्कक जान लागेका थाई नागरिक यावलुक जुवाश्री, परिचार्ट पम्प्रक, नट्टापोल ट्रिचैया र नटनारी दिचैया रहेका छन् । नट्टापोल र नटनारी दाजुबहिनी हुन् ।