हिमालयशमशेरको बिदाइ

Spread the love

                             

            हिमालयशमशेर जबराको स्वस्थानी पूर्णिमाका दिन आइतबार बिहानै निधन भयो | ९५ वर्षअघि वि.सं. १९८४ माघ ७ गते स्वस्थानी पुर्णिमाकै दिन उहाँ जन्मनुभएको थियो |

            हिमालयशमशेरको परिचयका लागि उहाँको नाम नै पर्याप्त थियो | नेपालले उहाँलाई नेपाली अर्थतन्त्रको जग हाल्ने व्यक्तिहरुमध्ये एकका रुपमा चिन्दछ | उहाँ नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछिको पहिलो अर्थ सचिव हुनुहुन्थ्यो | सुवर्णशमशेर जबराद्वारा २००८ माघ २१ गते प्रस्तुत नेपालको पहिलो बजेट निर्माताका रुपमा उहाँको योगदान अर्थतन्त्रको आधार तयार पार्ने व्यक्तिका रुपमा पनि थियो |

            हिमालयशमशेरले करिव पाँचवर्षे अर्थसचिवको जिम्मेवारीमा रहँदा बजेटरी व्यवस्थापनका अतिरिक्त राजस्वका स्रोतको खोजिदेखी नेपाल-भारतबीच आयात-निर्यात व्यापारका विभिन्न नीतिगत व्यवस्थापनदेखि वैदेशिक लगानी भित्र्याउनेसमेत काम गर्नुभएको थियो | अर्थसचिवमा रहँदा खाइपाइ आएको चार सय रुपियाँ मासिक तलब भत्ताको ठाउँमा मासिक  आठ सय रुपियाँ पाउनेगरी हिमालयशमशेर नेपाल राष्ट्र बैङ्कको गभर्नर बन्नुभएको देखिन्छ |

            रोलवाला राणा खान्दानकै लेफ्टिनेन्ट कर्णेल हिमालयशमशेर राणा शासनको बचाउमा कहिल्यै लाग्नुभएन | राजनीतिक रुपान्तरणको लक्ष्य मुलुकको आर्थिक-सामाजिक रुपान्तरण भएकाले उहाँ त्यसमा लाग्नुभएको यो एउटा उदाहरण मात्र हो | यस्ता अरु पनि घटना उहाँको जीवनसँग जोडिएका छन् |

            नेपालको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर रुपमा उहाँले गरेको योगदान अर्को महत्त्वपूर्ण पाटोका रुपमा रहेको छ | २०१३ वैशाख १० गतेको निर्णयअनुसार नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त हुँदासम्म नेपाली भूमिमा तर भारतीय मुद्रामा खुला कारोबार हुन्थ्यो | नेपाली मुद्रासँग भारुको मूल्य निर्धारण व्यापारीको तजबिजी निर्णयले हुनेजस्ता मौद्रिक जटिलता थिए | यस्तै समस्या समाधानको सोचले नेपाल राष्ट्र बैंक स्थापना गर्न लागिएको थियो | बजेट निर्माणदेखि नेपाल-भारत व्यापारमा नेपाल हित संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण हिमालयशमशेरलाई नै राष्ट्र बैङ्कको गभर्नर नियुक्त गरिएको थियो | गभर्नरका रुपमा नेपाली नोटमा हस्ताक्षर गर्ने श्रेय पनि उहाँमा नै गयो |

            त्योभन्दा ठुलो योगदान नेपाली भूमि खासगरी तराईमा व्याप्त भारतीय नोटको प्रचलन हटाउनु थियो | हिमालयशमशेरकै भनाइमा भारतीय नोट विस्थापन र नेपाली मुद्राको औपचारिक विनिमय दर निर्धारणमा ठूलो मेहनतले साथ दिएको थियो |

            उहाँकै अध्ययनका आधारमा भारतीय एक सय रुपियाँ बराबर १६० रुपियाँ नेपालीको स्थिर विनिमय दर अहिले पनि कायम छ | पूर्वगभर्नर डा. तिलक रावलले नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा हिमालयशमशेरलाई स्मरण गर्नुभयो | प्रतिकूल अवस्थामा पनि अनुकरणीय काम गर्ने व्यक्तिका रुपमा रावलले उहाँको स्मरण गर्नुभयो |

            पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री हिमालयशमशेरको यो भूमिकालाई अत्यन्तै दुरदर्शी नेत्रित्त्वका रुपमा स्मरण गर्नुहुन्छ | “गैरमुद्रा प्रणालीलाई नियमित गर्ने र नेपाली मुद्राको २०१३ सालमै कायम गरिएको विनिमय दर अहिले पनि भइरहेको छ भने त्यो कति दुरदर्शी र व्यावहारिक निर्णय भएको रहेछ,” उहाँले भन्नुभयो |

            पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्मरणमा हिमालयशमशेर योजनाबद्द विकास सुरु गर्ने व्यक्ति हुनुहुन्छ | उहाँले भन्नुभयो, “वित्तीय योजना निर्माणमा हिमालयशमशेर सिद्दहस्त नै हुनुहुन्थ्यो, केन्द्रीय बैंकको स्वायत्तताका विषयमा अडान महत्वपूर्ण र स्मरणीय छन् |” वि.सं. २०१७ को राजनीतिक परिवर्तन र खासगरी पंचायती व्यवस्था हिमालयशमशेरका लागि त्यति अनुकूल रहेन |त्यसपछि उहाँ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा काममा लाग्नुभयो | पछिल्लो समयमा सन् १९९३ मा उहाँ फेरि बैंक व्यवस्थातिरै लाग्नुभयो | निजि क्षेत्रबाट उहाँले हिमालयन बैङ्कको स्थापना गर्नुभयो |

            प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालयशमशेरराणाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्दान्जली अर्पण गर्नुभएको छ | प्रधानमन्त्रिले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नूभएको छ |

            नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि राणाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्दान्जली अर्पण गर्नुभएको छ | देउवाले राणाको पार्थिव शरीरमा कांग्रेस पार्टीको झन्डा ओढाएर श्रद्दान्जलि अर्पण गर्नुभयो | यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनील थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्दान्जली अर्पण गर्नुभयो | स्वर्गीय राणाको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो | उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *