शिक्षण सिकाइमा डिजिटल प्रविधि

Spread the love

                                     

गुरुकुल आश्रमबाट सुरु भएको हाम्रो शिक्षा प्रणाली, दूर शिक्षा हुँदै अहिलेसम्म आइपुग्दा विद्युतीय सिकाइ र मोबाइल सिकाइसम्म आइपुगेको छ । खरिपाटीको प्रयोगदेखि ईपाटिको प्रयोगसम्म आइपुग्दा नेपालमा शिक्षण सिकाइको क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छ ।

रेडियो,टेलिभिजन र अनलाइन माघ्यमबाट टेलिभिजन र रेडियोमार्फत प्रदान गरिने दूर शिक्षालाइ  प्रत्येक विद्यार्थीको मोबाइलमा पहुँच पुग्ने गरी अझ प्रभावकारी ढङ्गले नेपालका प्रत्येक गाउँ बस्तीसम्म पुर्याउन आवश्यक छ । डिजिटल प्रविधि शिक्षक , विद्यार्थी र शिक्षण सिकाइ प्रक्रियाको व्यवस्थापन र विषयवस्तुको भण्डारणका लागि बढी प्रयोग गरिन्छ । विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा सुधार ल्याउनका साथै नयाँ नयाँ ज्ञान,सीपको खोजी गर्न उनीहरुको नवप्रवर्द्दनको बारेमा सोच्न प्रोत्साहित गर्न र उनीहरुको अध्ययनप्रतिको रुचिमा वृद्दी गर्न र शिक्षणको उद्देश्यका बारेमा जागरुकता ल्याउन शिक्षण सिकाइमा प्रविधिको प्रयोग अपरिहार्य छ ।

अहिले शिक्षण सिकाइमा कम्प्युटर,मोबाइल ठुलो मात्रमा प्रयोग भए पनि पावरप्वाइन्त प्रस्तुति, एनिमेसन, अडियो, भिडियो,मल्टिमिडिया र सामाजिक संजाल (युटुब, भाइबर, स्काइप, आदि ) साथै जुम, गुगलमिटको प्रयोग उल्लेखनीय छ । सुचना प्रविधिले शैक्षिक समस्याको समाधान मात्र गर्ने होइन यसले मानिसले हरेक दिन समाधान गर्नुपर्ने समस्यालाइ बिना झन्झट अत्यन्त सजिलो तरिकाले छिटो छरितो गरि समाधान गर्न मद्दत गर्छ भन्ने कुरा प्रमाणित भएको छ । यसले शिक्षक विद्यार्थीलाई अझ नजिकबाट चिन्न मद्दत गर्नुका साथै सिकाइका लागि अत्यन्त रमाइलो वातावरणको सिर्जना गर्छ । यसले विचारको अलवा नँया विषयवस्तु सिक्नका लागि आन्तरिक प्रेरणाको विकास गर्न र सिकाइका धेरै अवसर प्रदान गर्न डिजिटल प्रविधिले मद्दत गर्छ ।

माध्यमिक तह, उच्च शिक्षा र प्राविधिक धारतर्फका शिक्षालय र  प्रशिक्षालयहरु डिजिटल प्रविधि प्रयोगको हिसाबले कमजोर छन् । शिक्षक, प्रशिक्षक र कर्मचारीलाई नयाँ नयाँ प्रविधिसम्बन्धी ज्ञान सीप प्रदान गर्नुका साथै विषयगत तालिमको आवश्यकता छ । प्रविधिमैत्री कक्षा कोठा, प्रयोगशाला, अनुसन्धान कक्ष , तालिम कक्ष , कन्फरेन्स हाल, फिल्डमा प्रयोग गरिने उपकरण शिक्षण सिकाइ सुधारका लागि अति आवश्यक विषय हुन् । यी सबै प्रविधियुक्त हुनुपर्छ । प्रविधिक भौतिक पूर्वाधार विकास र प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण र प्रविधिमैत्री कार्य वातावरण निर्माण गर्न सकेमा शिक्षामा सुधार सम्भव छ ।

शिक्षालयले  शिक्षकलाई डिजिटल प्रविधि उपलब्ध गराउनु पर्छ । कम्प्युटर वा ल्यापटप प्रयोग गरेर शिक्षकले शिक्षण सामग्री जस्तै: नोट, कक्षा अभ्यास, समूह कार्य तयार गर्न सक्छन् । उनीहरुले सम्बन्धित पाठसँग मिल्ने अडियो,भिडियो सामग्री पनि विद्यार्थीलाई पस्कन सक्छन् । प्रशिक्षकले फोन, भिडियो कल, इमेल, म्यासेजमार्फत विद्यार्थीलाई शिक्षण सिकाइसम्बन्धि सूचना तथा शैक्षिक सामग्री प्रदान गर्न सक्छन् । प्रशिक्षार्थीले पनि उनीहरुलाई दिइएको गृहकार्य, खोज कार्य, प्रोजेक्ट कार्य, फिल्ड कार्य, फिल्ड रिपोर्ट, थेसिस, ल्याव रिपोर्ट प्रशिक्षकलाइ अनलाइनबाटै बुझाउन सक्छन् । स्वदेशमै बसेर पनि विदेशी विश्वविद्यालयका प्रोफेसर र खोजकर्तासँग सहकार्य र अनुभव आदानप्रदान गर्न सक्छन् । उनीहरुका थेसिस, अध्ययन प्रतिवेदनको विश्लेषण गरेर आफ्ना अध्ययन र अनुसन्धान कार्यलाई सश्लेषण गर्न सके शिक्षाम सुधार सम्भव छ ।

कलेज प्रशासन वा कक्षा शिक्षकले विद्यार्थीलाई प्रत्येक कक्षाका विद्यार्थीका सामाजिक संजालमा एउटा समूह बनाइदिने र उक्त समुहमा विद्यालय वा कलेजका सुचना, शिक्षण् सामग्री, विद्यार्थीका लागि खोज कार्य, शिक्षण् सामग्री भएका वेभसाइटको लिङ्क विद्यार्थीलाई दिन सकिन्छ । सर्च इन्जिनको प्रयोग गरेर शिक्षण सिकाइका सामग्री प्राप्त गर्न सकिने र विद्यार्थीका लागि अतिरिक्त पठन सामग्री सङ्ग्रह गर्न सकिन्छ । युट्युब प्रयोग गरेर विद्यार्थीलाई सम्बन्धित पाठसँग मिल्ने भिडियो, डकुमेन्ट्री देखाउन र प्रयोगात्मक अभ्यास गराउन सकिन्छ । उक्त भिडियो विद्यार्थीले आफुले नसिकेर नजानेसम्म दोहोराई,तेहराइ हेर्न सक्छन् । यसका लागि विद्यार्थीले छुट्टै शुल्क तिर्नु पर्दैन । उक्त कार्य शिक्षक विद्यार्थी दुवैले घरमै बसीबसी गर्न सक्छन् । तर यी कार्यका लागि इन्टरनेट सेवा अनिवार्य छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ विद्युतीय माध्यमबाट प्रश्नपत्र तयार गर्ने,मोडलिङ गर्ने, कक्षा परिक्षा, पाठ परिक्षा त्रैमासिक परीक्षा वार्षिक परिक्षा संचालन, नतिजा प्रशोधन र नतिजा प्रकाशन गर्न सकेमा शिक्षाम सुधार सम्भव छ ।

विद्यालय,कलेज, विश्वविद्यालय परिसरमा सिसीटीभी, विद्युतीय हाजिरी,सबै शाखा जस्तै: प्रशासन, लेखा, लाइब्रेरी, ल्याब, कक्षा कोठा, छात्रावास, परिक्षा, अनुसन्धान कक्ष, यातायात, खेलमैदान, चमेना गृहलाई एमआइएसमा एकीकृत गरी अनलाइनबाट दैनिक कार्य संचालन गर्न सकेमा सेवा सरल, सहज र मितव्ययी हुन्छ । एउटै कार्यकक्षबाट सबै महाशाखा, शाखामा काम गर्ने कर्मचारी, शिक्षक र विद्यार्थीको गतिविधि निगरानी गर्न सहज हुनुको साथै आवश्यक राय, सुझाव, सल्लाह दिन र काममा खटाउन सहज हुन्छ । सूचना प्रविधिको प्रयोग गरेर अभिभावक, विद्यार्थी, शिक्षालय्, सरोकारवाला र अनुगमनकारी निकायबीच समय समयमा भेटघाट, छलफल, अनुगमन, मुल्यांकन र आवश्यक रचनात्मक सुझावसहितको निर्देशन हुन सके शिक्षामा सुधार सम्भव छ ।

सरकारले सार्वजनिक स्थानमा नि:शुल्क वाइफाई सेवा वितरण गरिदिनु पर्छ । यसको अनुगमन, संरक्षण र संवर्द्दन स्थानीय  तहले गर्नुपर्छ । शिक्षक , विद्यार्थीलाई मोबाइल, कम्प्युटरमा नि:शुल्क डाटासंचालनको व्यवस्था गरिदिनु पर्छ । यसबाट दुर्गम गाउँमा बस्ने शिक्षक, विद्यार्थी, प्रशिक्षक अभिभावकले केही मात्रमा भए पनि शिक्षाको लाभ लिन सक्छन् । अनलाइनबाट शिक्षण शुल्क र अन्य शुल्क तिर्न सकिने हुँदा समय र पैसा दुवै बचत हुन्छ । विद्यार्थीको अनलाइनबाट परिक्षा लिने व्यवस्था सरकारले गर्न सके उनीहरुले घरमै बसेर डिग्री लिन सक्नेछन् । दिनभर ज्याला, मजदुरी गरेर भए पनि साँझ बिहान पढेर आफ्नो ज्ञान, सीप र शैक्षिक योग्यता बढाउन सक्छन् । विदेशी विश्वविद्यालयले यो व्यवस्था पहिलेदेखि नै गरेका छन् भने नेपाल खुला विश्वविद्यालयले मात्र नेपालमा अनलाइन अध्ययन सुरु गरेको छ ।  डिजिटल प्रविधिको सहयोगमा प्रदान गरिने शिक्षाको शिक्षण सिकाइको क्षमता राम्रो भएको कुरा स्वीकार गरेका छन् तापनि आमजनतामा डिजिटल प्रविधिको सहज र सुलभ पहुँचका विषयमा भने प्रश्न उठेको छ । सरकारले शिक्षक, विद्यार्थी र शैक्षिक संस्थालाई डिजिटल प्रविधि उपलब्ध गराई सबै पाठ्यक्रमलाई डिजिटाइज गर्दै भौतिक र प्राविधिक पूर्वाधार निर्माणका साथै प्रविधि मैत्री शिक्षण सिकाइ र प्रविधिमैत्री कार्य वातावरण निर्माण गर्न सकेमा शिक्षामा आमूल सुधार सम्भव छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *