सुविधा दिन अस्वीकार

Spread the love

सङ्घीय संसद् सचिवालयले नेकपा ( एकीकृत समाजवादी ) का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ | दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो |

         सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नामिल्ने जवाफ पठाएको हो | शाखाका उपसचिव रामहरि थापाले कानुनअनुसार सचेतकलाई सुविधा उपलब्ध गराउन नमिल्ने जवाफ पठाइएको बताउनुभयो |

         समाजवादीले सङ्घीय संसद्का पदाधिकारी तथा सुविधासम्बन्धी ऐनअनुसार सुविधा दाबी गरेको थियो तर सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ | १० सांसद रहेको एकीकृत समाजवादीले एनको परिभाषा खण्ड (ञ) अनुसार सुविधा माग गरेको थियो | १० भन्दा बढी सांसद भएको दलको प्रमुख सचेतकले पदाधिकरिको सुविधा पाउने ऐनमा व्यवस्था छ | सचिवालयले दलको सिट सङ्ख्या १० रहेको र १० भन्दा बढीको अर्थ कम्तीमा ११ सदस्य हुनुपर्ने भन्दै सुविधा दिन नमिल्ने जवाफ पठाएको हो |

           सुविधा शाखामा संसदीय दल गठनका अन्य पत्र पनि प्राप्त भएका छन् | जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले पनि सो विवरण पठाएका छन् | कतिपय दलले दलको नेता र सचेतक तोकिएको जानकारीसगैं कानुनअनुसार सुविधा पाउने भएमा उपलब्ध गरुन पनि पत्रमा लेखेका छन् | सचिवालयले कानुनअनुसार न्यूनतम सिट पूरा नगरेका दलले सुविधा नपाउने ऐनकै व्यवस्थाबारे पत्रमार्फत नै जानकारी गराएको छ |

           संसद्ले पदाधिकारीहरुलाई पारिश्रमिकका अतिरिक्त सुविधा दिँदै आएको छ | कानुनअनुसार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष , दुवै सदनका विपक्षी दलका नेता , सत्ता पक्षका नेता, सत्ता पक्षका मुख्य सचेतक, उपसभामुख, उपध्यक्ष, विपक्षी दलका प्रमुख सचेतक , सत्ता पक्षका सचेतक, विपक्षी दलको सचेतक र समिति सभापतिलाई पदाधिकारीका रुपमा सुविधा दिने गरेको छ |

         अन्य सुविधा नदिए पनि संसद्ले स्वतन्त्र संसदसमेतलाई कार्यकक्षको भने व्यवस्थापन गर्ने गरेको छ | राष्ट्रिय मान्यताप्राप्त दल, संसदमा प्रतिनिधित्व गर्ने अन्य दल र स्वतन्त्र सदस्यहरुलाई पनि यो पटक सचिवालयले कार्यकक्ष व्यवस्था गरेको छ | संसदीय दल गठनको अधिकार रहेका दलहरुलाई बैठककक्ष पनि सचिवालयले उपलब्ध गराएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *