प्रेम प्रसाद आचार्यको निधन प्रति मेयर बालेनद्वारा चिन्ता व्यक्त
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्। मंगबार आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको निधनपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
मेयर साहले प्रेमप्रसादको व्यवसायमा, निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको बताएका छन्। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएको मेयर साहको भनाइ छ।
उनले नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भएको बताएका छन्। उनले भनेका छन्, ‘हामी सबै असफल भइरहेका छौं। नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन। हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन। जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ।’