पार्किङ बन्दै बन्दरगाह।

Spread the love

काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाहमा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण गर्न विश्व वैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो । आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

व्यापार सहजीकरण गर्ने उद्देश्यका बन्दरगाह गरी सञ्चालनमा आएको नौ महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा सञ्चालन गर्न लागिएको हो।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह आगामी एक सातामा ‘लजिस्टिक हबका रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

सुक्खा बन्दरगाहमा रहेको ९० रोपनी जग्गामा एक साताभित्रमा हब सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन नआएपछि पूर्वाधारको प्रयोग गर्न पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङका रूपमा प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो बन्दरगाहमा बनेको पूर्वाधारलाई अधिकतम प्रयोग गर्ने उद्देश्यसहित पार्किङ स्थल गोदाम र सामान प्याकेजिङको सुविधा उपलब्ध गराउन लागिएको जानकारी उहाँले दिनुभयो । “हवका रूपमा विकास गर्न पूर्वाधार तयार गरिसकिएको छ । भाडाको दररेट निर्धारण गरेपछि तत्काल सञ्चालनमा ल्याइने छ,” उहाँले भन्नुभयो दररेट सञ्चालन समितिबाट स्वीकृत गर्नुपर्छ ।

खसगरी मालवाहक ट्रकलाई पार्किङ सुविधा उपलब्ध गराउनुका साथै व्यवसायीले निश्चित शुल्क तिरेर गोदामका रूपमा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

एक करोड रुपियाँ खर्च गरेर बन्दरगाहभित्र प्रयोग नभएको ठाउँमा लजिस्टिक हब विकास गरिएको समितिले जनाएको छ सञ्चालन खर्च उठ्ने गरी पार्किङ शुल्क बजार मूल्यभन्दा सस्तो निर्धारण गर्ने समितिको तयारी छ ।बन्दरगाहभित्र रहेको २६० रोपनी जग्गामध्येमा

९० रोपनी जग्गामा १५० देखि दुई सयवटा ट्रक पार्किङ गरिनेछ । यस्तै १२ हजार स्क्वायर फुट गोदाम र लोड अनलोड गर्ने ठाउँमा प्याकेजिङ स्थल रहेको समितिले जनाएको छ ।

आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ गत चैत २२ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिका अनुसार बन्दरगाह सञ्चालनमा आएदेखि हालसम्म ८० वटा कन्टेनरमा सामान भित्रिएका छन् भने चार कन्टेनर सामान निर्यात भएका छन् ।

प्रभावकारी रूपमा आयात निर्यातको काम हुन नसकेपछि बन्दरगाहभित्र रहेको पूर्वाधारलाई प्रयोग गरी सवारीसाधन पार्किङ र गोदाम स्थलका रूपमा प्रयोग गर्न लागिएको हो। बन्दरगाहमा आन्तरिक दुई सयवटा ट्रक पार्किङ गर्ने सुविधा रहेको समितिले जनाएको छ । बन्दरगाहमा साना उद्यमीले उत्पादन गरेका सामान प्याकेजिङसमेत गर्न सकिने समितिले जनाएको छ।

समितिका अनुसार हाल बन्दरगाहमा बाहिरी मुलुकबाट आयात गरेर ल्याइएका पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनी रहेका छन् । बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदामघर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा छन् । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *