पर्यटन ब्यवसायमा छलाङ
निर्माण सम्पन्न भएर पनि व्यावसायिकसञ्चालन गर्न नसकेको क्रुज सिप (सानो पानी जहाज) नारायणी नदीमा सर्वसाधारणका लागि आइतबारबाट खुला गरिएको छ । नारायणगढ बजारबाट करिब नौ किलोमिटर दक्षिण काभ्रेघाटबाट क्रुज सिप सञ्चालनमा आएको हो। राइनो वाटर इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको सिपमा आइतबार मात्रै तीन पटक यात्रा गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्टका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले भन्नुभयो, “सफल परीक्षण गर्दै आएका थियौं । व्यावसायिक रूपमा सञ्चालन -गर्न सकिएको थिएन। अहिले हामीले सर्वसाधारणका लागि खुला गरेका छौं।”
करिब दुई वर्षपहिले नै क्रुज सिपको परीक्षण गरिएको थियो । कोभिड – १९ महामारी र केही नीतिगत व्यवधानका कारण क्रुज सिप सञ्चालनमा आउन सकेको थिएन। अहिले सबै पक्रिया पूरा गरेर क्रूज सिप सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो। तीन तलाको क्रुज सिपको क्षमता दुई सय रहेको छ ।
यसमा यात्रा गर्ने यात्रुको १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा गरिएको छ। क्रुज सिपको टिकट दर सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार र डिनर क्रुजिङको दुई हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ। यसमा यात्रा गरेपछि कालिका नगरपालिकाका फणीन्द्र दाहालले भन्नुभयो, “नेपालमै पानीजहाज
चढ्न पाइने नयाँ स्वाद भएकाले धेरै रमाइलो लागेको छ ।”
भरतपुर महानगरपालिका-१० का केशव पौडेलले भन्नुभयो, “विदेश र यहाँको यात्रालाई हामीले तुलना गर्न हुँदैन। यसको महत्त्व अलग्गै छ । नेपालमा पानीजहाज चल्नु नै ठूलो विषय हो। यसले अब नेपालको पर्यटन क्षेत्रमा नयाँ स्थान स्थापित गर्ने विश्वास लिएको छु ।”
भरतपुर महानगरपालिका-१६, मङ्गलपुर, काभ्रेघाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दूरीमा सञ्चालनमा आउने जनाइएको छ । नदीले पानीको धार परिवर्तन गरेकाले लामो दूरीमा चलाउन नसकिएको जानकारी ढुङ्गेलले दिनुभयो । पानीको सतह वृद्धि भएपछि काभ्रेघाटबाट देवघाटसम्म ल्याउने जानकारी उहाँले दिनुभयो । क्रुज सिपले ४० किलोमिटरसम्म सञ्चालन गर्न पाउने अनुमति लिएको छ। क्रुज सिपमा विवाह, पार्टी र कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ।