चितवन महोत्सवले कायम गर्यो हालसम्मकै अत्यधिक भिडको रेकर्ड
पुस २५ गतेबाट चलेको कितवन महोत्सवमा सधैंजसो बर्षमा एक शनिबार र माघे सक्रन्तिलाई लक्षित गरि नारायणगढको नारायणी नदीकिनारमा चितवन महोत्सव गरिने गरिन्छ । यस बर्षमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवमा हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता देखिएको छ । मघे सक्रान्तिको अवसरमा देबघटधाम प्रवेश गर्ने भिडलाई देख्दा लाग्थ्यो कि चितवनका बाटोघाटोहरू सधैं यसरी नै भरिदै जाने हो भने कसरी ब्यबस्थापन गर्ने भन्नए पनि समस्या हुने त होइन भन्ने पनि देखिन्थ्यो भने अर्कोतिर यस्तो खालको जनमानसको आवतजावत भएमा ब्यापार ब्यबसाय र आर्थिक चलायमान प्रशस्त वृद्धि हुनेथियो भन्ने जस्तो देखिन्थ्यो । आज माघे सङ्क्रान्ति पर्व परेका कारण महोत्सवमा सबैभन्दा बढी भिड भएको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाकाअनुसार आजमात्रै करिब ७० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । “यस संस्करणको चितवन महोत्सवमा आज सबैभन्दा बढी भिड देखियो” पियाले भने, “महोत्सव अवलोकनकर्ताको चाप धेरै भएपछि आज हामीले टिकट काट्ने ठाउँ र प्रवेशस्थल समेत थप गर्नुप¥यो ।” महोत्सव प्रवेशका लागि सात स्थानबाट टिकट वितरण गरिएको उल्लेख गर्दै पियाले एक नम्बर गेटका सबै ढोकासँगै गेट नम्बर २ र गेट नम्बर ३ बाट समेत अवलोकनकर्तालाई महोत्सव प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।
महोत्सवमा आज बिहानैदेखि अत्यधिक भिड रहेको उनको भनाइ छ । चोसो मौसमको प्रवाह नगरी महोत्सवमा अत्यधिक अवलोकनकर्ताहरु सहभागी भएपछि आफूहरु उत्साहित भएको पियाको भनाइ छ । भोलि सोमबार पनि बजारहरु बन्द रहने भएकाले महोत्सवमा दर्शकको भिड धेरै हुने आयोजकको अपेक्षा रहेको छ ।
राष्ट्रिय दोहोरी प्रतियोगितामा रुपन्देही पहिलो
चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही पहिलो भएको छ । पहिलो भएको रुपन्देहीले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको महोत्सवका सांस्कृतिक संयोजक नारायण प्रधानले जानकारी दिए । सो प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा दोस्रो भएको छ ।
संयोजक प्रधानकाअनुसार दोस्रो भएको गोरखाले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । पुस २८ गतेदेखि सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगितामा विभिन्न आठ जिल्लाका कलाकारहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो र दोस्रो हुने कलाकारहरुलाई आज नै पुरस्कार वितरण गरिएको प्रधानले जानकारी दिए ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज हास्य प्रहसन तथा नृत्य प्रस्तुत भएको प्रधानको भनाइ छ । प्रधानकाअनुसार हास्य कलाकारहरु राजु मास्टर, बल्छी ध्रुवे, मास्टरनी, रजनी गुरुङ –मङ्गली)लगायतका कलाकारले प्रस्तुती राखेका थिए । त्यस्तै, विभिन्न संघसंस्थाले जातजातिको मौलिक नृत्यसँगै आधुनिक गीत तथा नृत्य प्रस्तुत गरेका प्रधानले बताए ।
भोलि स्लो साइकल रेस हुने
चितवन महोत्सव स्थलमा भोलि स्लो साइकल रेस प्रतियोगिता हुने भएको छ । साइकल व्यवसायी संघ चितवनको संयोजनमा प्रतियोगिता हुन लागेको हो । महोत्सवको खेल संयोजक रुद्र सुवेदीकाअनुसार भोलि बिहान ९ः३० बजे स्लो साइकल रेस प्रतियोगिता हुने छ ।
प्रतियोगितामा विजेता हुने प्रतियोगीहरुलाई आकर्षक पुरस्कार प्रदान गरिने सुवेदीले जाकारी दिए । साइकलको महत्व झलकाउन तथा साइकलको प्रवद्र्धनका लागि स्लो साइकल रेस आयोजना गरिएको सुवेदीले जानकारी दिए । चितवन महोत्सवले हरेक वर्ष स्लो साइकल रेस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
त्यसैगरी, सोमबार नै साहित्यिक गोष्ठी हुने भएको छ । चितवन महोत्सवकै अवसरमा भोलि बिहान ११ बजे उद्योग वाणिज्य संघ चितवन परिसरमा साहित्यिक गोष्ठी आयोजना गरिएको महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले जानकारी दिए । ओलीकाअनुसार साहित्यिक गोष्ठीमा कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको छ ।
विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए ।
माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीले बताए ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने समेत बताए ।