समाचार

देशैभर पृथ्वी जयन्ती विशेष कार्यक्रम।

Spread the love

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सङ्घीय राजधानी काठमाडौँसहित मुलुकभरि शाहको सालिकमा माल्यार्पण गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिमी मूलढोकामा रहेको शाहको पूर्ण कदको सालिकमा बुधबार पुष्पहार एवं माल्यार्पण गर्नुभयो । त्यसैगरी राष्ट्रपति मण्डारीले बुधबार नै दहचोक पुगी कालु पाँडेको सालिकमा समेत पुष्पहार एवं माल्यार्पण गर्नुभएको थियो ।

सिंहदरबारको पश्चिमी मूलढोकामा रहेको शाहको सालिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, विश्व हिन्दु महासङ्घ, विश्व हिन्दु परिषद्लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सर्वसाधारणले समेत राष्ट्र निर्माताको सालिकमा पुष्पहार एवं माल्यार्पण गर्नुभयो । त्यसअघि सो जयन्ती तथा दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डप तथा सिंहदरबार क्षेत्रमा ऱ्याली निकालेको थियो।

वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मनुभएका शाहको जन्मदिनका अवसरमा हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइने गरिन्छ । मुलुकको भौगोलिक एकीकरण गर्नुभएको भन्दै शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा समेत मनाउने गरिएको छ । वि.सं. १८३१ न माघ १ गते ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा उहाँको निधन भएको थियो। यस दिवसका अवसरमा सरकारले यो वर्ष सार्वजनिक बिदा दिएको छ ।चियापानमा थापा र लिङदेनसँगै पृथ्वी जयन्ती मनाउने कार्यक्रममा राप्रपाद्वारा

बुधबार भृकुटीमण्डपमा चियापान समारोहको आयोजना गरियो । सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष लिङ्देन सँगै देखिनुभयो । उहाँहरूले मञ्चमा सँगसँगै उभिएर त्यहाँ उपस्थित नेता, कार्यकर्ता र सर्वसाधारणलाई अभिवादनसमेत गर्नुभएको थियो ।

चियापानमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आधुनिक नेपाल निर्माणमा राजा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

आधुनिक नेपालको एकीकरण गर्ने राजा शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले शाहका कतिपय नीतिहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “तत्कालीन समयमा छरिएर रहेका स-साना राज्यहरूलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुऱ्याउनुभएका शाहले अवलम्बन गर्नुभएका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्रलगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्।”

उहाँले यस अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले भन्नुभएको छ, “उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै त्यो कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धासाथ स्मरण गर्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *