प्रम: एउटा नराम्रो काम हुन दिने छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एउटा पनि नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताउनुभएको छ । महेन्द्र माध्यमिक विद्यालयमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई • सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तेस्रो कार्यकाल मेरानिम्ति चुनौतीपूर्ण अवसर हो । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु ।”
सिङ्गो देशले सरकारलाई आशाको नजरले हेरिरहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नभुयो, “जनताको आशालाई सम्बोधन गर्न तपाईं हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।” उहाँले आफ्नो पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्दै विकास र समृद्धिको विजारोपण गरेको दाबी गर्नुभयो ।
किसानलगायत जनताको ऋण मिनाहा र सामाजिक न्याय स्थापित गर्नमा पहिलो पटक प्रधानमन्त्री हुँदा आफूले जोड दिएको उहाँले बताउनुभयो । दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, सङ्घीयताको जग बसाल्ने कामका लागि पहल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तेस्रो कार्यकाल विगतभन्दा नमुना बनाउनुपर्नेछ । त्यसैले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।” प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐन जारी गर्ने काम सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारको कार्यकालमा पनि सङ्घीय शिक्षा ऐनका केही काम भएका छन्। तर ऐन जारी भएन। यस पटक सङ्घीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ।” राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका रहेको चर्चा गर्नु भयो।