काग्रेसले आत्मसमिक्षा गर्नुपर्छ।
-हेमराज बस्याल। नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशैभरि मनाएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सानेपास्थित केन्द्रीय कार्यालय, सातै प्रदेश र ७७ वटै जिल्ला पार्टी कार्यालयमा कार्यक्रम गरी मेलमिलाप दिवस मनाइयो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किनुभएको थियो । सोही दिनको स्मरण गर्दै कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ। । कांग्रेसका नेता कार्यकर्ताले बीपीको तस्विरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मेलमिलाप दिवसका अवसरमा शुभकामना दिँदै प्रतिकूलतामा र नवीनताको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँहरूले बीपीको सन्देशको मर्मलाई आत्मसात् गर्दै एकताबद्ध भएर हरेक चुनौतीको सामना गर्न आग्रह गर्नुभएको छ । उहाँहरूले गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताउनु भएको छ। उहाँहरूले भन्नुभएको छ, “प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनुपर्थ्यो भनेर पार्टी पङ्क्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक होइन ।” महामन्त्रीद्वय थापा र शर्माले आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने बताउनुभएको छ । उहाँहरूले यसबीचमा आफूहरूको असावधानी, कमजोरी र गल्ती भएको, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला तथा पारदर्शी छलफलमार्फत कारण एवं कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्नुपर्ने बताउनुभएको छ ।
उहाँहरूले कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढङ्गबाट अबको बाटो तय गर्ने भनाइ राख्नुभएको छ। उहाँहरूले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने बताउँदै जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्ने प्रस्ट पार्नुभएको छ साथै राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने उहाँहरूले बताउनुभएको छ ।