सरुवा-बढुवा माग्दै नेताहरुको घर-घर पुग्ने प्रहरी कर्मचारीलाई कारवाहि गर्ने चेतावनी।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दण्डहीनताको अन्त्य र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दीविरुद्ध निर्मम भएर कारबाही गर्नुका साथै सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा लागूऔषध बिक्रीवितरण र सेवनलाई पूर्णतः निस्तेज पार्न विशेष कार्ययोजना बनाई कार्यसम्पादन गर्नसमेत उहाँले निर्देशन दिनुभयो ।
निरीक्षणका क्रममा शुक्रबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय पुग्नुभएका गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई सो निर्देशन दिनुभएको हो । कानुन कार्यान्वयनको सिलसिलामा कसैको दबाब/प्रभावमा नपरी कानुनले दिएको अधिकार प्रयोग गर्दै दत्तचित्त र इमानदार भई कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ छ।
महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको सन्दर्भमा अझ बढी संवेदनशील भएर सेवा प्रवाह गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरी सेवा प्रवाहका लागि सहयोग सहजीकरण गर्न मन्त्रालय सदैव तत्पर रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रहरी कर्मचारीको सरुवा र बढुवा निर्धारित मापदण्ड बाहिरबाट नहुने स्पष्ट पार्नु भयो।