सरकारको साझा कार्यक्रमबारे छलफल।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डको निवास खुमलटार जानुभएको थियो
लामो समयपछि अध्यक्ष ओली खुमलटार जानुभएको हो । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटस्थित ओली निवास पुग्नुभएको थियो त्यसपछि एमाले अध्यक्ष बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न तथा विभिन्न विषयमा छलफल गर्न खुमलटार पुग्नुभएको हो।
अध्यक्षद्वय प्रचण्ड र ओलीबीच सरकार गठनलगायत विभिन्न राजनीतिक तथा समसामयिक विषयमा साढे दुई घण्टा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आगामी सहकार्य र सत्ता गठबन्धनमा हुने दलीय सहभागिताका विषयमा छलफल भएको छ । मन्त्रिपरिषद्को बैठकले गरेको पहिलो निर्णय कार्यान्वयन गरी जनतालाई सेवा प्रवाह तथा सुशासनको अनुभूति कसरी गराउनेलगायतका विषयमा पनि छलफल भएको छ ।
स्वकीय सचिव मल्लले भन्नुभयो, “सरकारका नीति तथा कार्यक्रम के कस्ता बनाउने, अब कसरी जाने ? सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्नेबारे अध्यक्षद्वयबीच छलफल भएको हो।” सरकारमा दलीय सहभागिता तथा मन्त्रालय भागबन्डाको विषयमा सामान्य छलफल भएको तर बिहीबार हुने सत्ता गठबन्धनको बैठकपछि औपचारिकता पाउने उहाँको भनाइ छ । मन्त्रिपरिषद् विस्तार र प्रदेश सरकार गठनबारे पनि छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ। उहाँ खुमलटारस्थित निवासबाट बुधबार साँझ ६ बजे बालुवाटार सर्नुभएको हो । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो तेस्रो पटक बालुवाटार प्रवेश हो ।
यसअघि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो बालुवाटार छाड्नुभएको थियो । देउवा बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको हो । बूढानीलकण्ठ, स्थित निजी निवास मर्मतसम्भार भइरहेको र त्यसमा केही समय लाग्ने भएकाले धुम्बाराहीस्थित एक घर भाडामा लिएर देउवा सर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।