सामाजिक सुरक्षा कोष : एक सय २३ योगदानकर्ताका आश्रित परिवारले पाउन थाले पेन्सन ।
सामाजिक सुरक्षा कोषले आज चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । वि.स. २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना सुरू गरिएको थियो ।
निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले ज्यान गुमाएकाहरुका परिवारलाई पेन्सनको व्यवस्था छ । कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धा अवस्था सुरक्षा योजनामा ४७ करोड २७ लाख रुपियाँ दाबी भुक्तानी गरिएको छ ।
कोषमा आबद्ध योगदानकर्तामध्ये अहिलेसम्म छ हजार ४५० योगदानकर्तालाई सात करोड १६ लाख ८५ हजार रुपैयाँ औषधि उपचार, १९१ योगदानकर्ताको दुर्घटनाबापतको ६० लाख ५८ हजार रुपैयाँ उपचार खर्च भुक्तानी गरिएको छ । कोषमा आबद्ध १२३ योगदानकर्ताको आश्रित परिवारलाई एक करोड १३ लाख रुपैयाँ भुक्तानी भएको छ । कोषले ज्यान गुमाएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक २० लाख ६५ हजार रुपैयाँ पेन्सन भुक्तानी गर्दै आएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो ।
अहिलेसम्म १५ हजार ८२४ रोजगारदाता एवं दुई लाख ९५ हजार ६२२ श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा अहिलेसम्म १० अर्ब २९ करोड योगदान रकम सङ्कलन भएको छ ।
सामाजिक सुरक्षाकोषका फाइदासङ्गै केही कर्मचारीहरूका गुनासाहरू पनि रहेका देखिन्छन् । आफ्नै तलब वा सेवाबाट प्राप्त हुनुपर्ने रकम कर्मचारीले आफ्नो दुखमा गर्जो टार्न पाउनुपर्ने तर सामाजिक सुरक्षा कोषको नियम अनुसार केही रकम योगदानकर्ता कर्मचारीको उमेर ६० बर्षसम्म कुर्नुपर्ने प्राबधान र बैंकिङ्ग क्षेत्रमा लगायत सामाजिक सुरक्षा कोषको भन्दा आकर्षक सुबिधा सहितका योजनामा सहभागी भएका योगदानकर्ताहरूको मागको बारेमा उचित समाधान आउन नसक्नु, नीजि क्षेत्र समेतलाई समेट्ने गरि तयार गरिएको सामाजिक सुरक्षा योजनामा सबै निजी क्षेत्रको सहभागी आकर्षक रुपमा गराउन नसक्नु जस्ता बिषयले सामाजिक सुरक्षा योजनाका केही बिषयहरूलाई थप जटिल बनाउदै लगेको कुरा यससँग सम्बन्धित जानकारहरू बताउने गरेका छन ।