चुनाव नजिकिए सगै ३ दिन सिमा नाका बन्द हुने
भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाहरूको सीमानाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ। सुरक्षित, व्यवस्थित एवं भयरहित वातावरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल- भारत सीमानाका बन्द गरिने निर्णय भएको छ। नेपाल-भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । भारत विहार राज्यको मधुवनी जिल्लास्थित जयनगरमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको सो बैठकमा खुला सीमानाकाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मङ्सिर ४ गते हुने मतदानको ७२ घण्टाअगाडि देखि सीमानाका बन्द गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो उहाँले बैठकमा दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसारपसारलगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भएको बताउनुभयो । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका मजिस्ट्रेट (डीएम) अरबिन्दकुमार बर्माले गर्नुभएको थियो । उक्त बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट मधुवनी जिल्लाका मजिस्ट्रेट (डीएम) तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो। गत बुधबार यस्तै बैठक सर्लाहीको मलङ्गवामा बसेको थियो । सो बैठकमा सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारीहरू र सम्बद्ध अधिकारीहरूको सहभागिता थियो । जिल्लास्तरीय सीमा समन्वय समितिको उक्त बैठकले पनि मतदानको ७२ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको थियो। निर्वाचनको सुरक्षालाई मध्यनजर गरी मसिर १ गतेदेखि नाका ‘सिल’ गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो। “उक्त बैठकमा पनि सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा अतिक्रमण, मानव बेचबिखन, मदिरा तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध मुद्राको मदिरा प्रतिबन्ध मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । प्रदेशका सप्तरी, सिरहा, धनुषालगायतका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सम्बद्ध जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ)मा भएको व्यवस्था, सर्वदलीय/सर्वपक्षीय. समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार निर्वाचनसम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ ।