कार्तिक कृष्ण त्रयोदशीका दिन आज ६ गते काग तिहार तथा धनवन्तरी देवीको पूजा आराधना गरी मनाइदै
हिन्दू धर्मावलम्बीहरूले आज कृष्ण त्रयोदशीका दिन बिहानै कागलाई मीठो मीठो खानेकुराहरू अन्न परिकारहरू दिई फूलमाला अर्पित गरी आज काग तिहार र धनवन्तरी देवीको पूजापाठ आराधना गरी बेलुकी रप्तरङ्गी रङबाट रङ्गोली बनाई देवी लक्ष्मी माता सहित बिष्णु भगवानको पूजा आराधना गरी यम पन्चकको पहिलो दिनबाट तिहारको बिधिवत शुरूवातको स्वागत गरिएको छ ।
कार्तिक त्रयोदशीबाट शुरुभई यम पन्चकको पूजा गर्दै भाइ टीकामा गई समापन हुने नेपालीहरूको दोश्रो महान चाड तिहार (शुभ दिपावली) आज काग तिहार मनाएर शुरु गरिएको छ । हुन त हिजो कार्तिक कृष्ण द्वादशीको दिन धनेन्तर भगवानको पूजा गरी नयाँ समानहरू घरमा भित्र्याएर पनि तिहारको स्वागत गर्दै गरेको देखिन्छ । हाम्रो नेपाली पात्रोका अनुसार धन्वन्तरी देवीको पूजा आजको दिनमा नै गरेको पाइन्छ । धनवन्तरी देवीलाई आफ्नो घरभित्र प्रवेश गर्न आह्वान गर्दै थरीथरीका झिलिमिली रङ्गोलीहरू बनाई घर आगनबाट आफ्नो घरको मुख्य धनबस्त्रादी राख्ने ठाउँसम्म देवी लक्ष्मीको पाइला बनाई नानातरहले पूजा आराधना गरी देवी लक्ष्मीलाई घर भित्र्याउने चलन पनि रहेको छ । कार्तिक कृष्ण त्रयोदशीको दिन देवता र दानवबीचको युद्धमा समुन्द्र मन्थन गर्दा भगवान् धनवन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक भनाइ परम्परागत मान्यता रही आएको छ । काग तिहारमा कागलाई यमराजको सन्देश बहाकको रुपमा लिएर पूजापाठ गरी आएको र मीठामीठा खाना खान दिई तिहारको शुरूवाती दिनलाई स्वागत गर्ने परम्परा चली आएको छ । कागहरू यमराजका दूतहरू हुन् भन्ने मान्यताका साथ यिनै यमदूत मार्फत कुनै शोक, मृत्युका खबर नआईपुगोस भनेर यम पन्चकको पहिलो दिन कागलाई विभिन्न परिकार सहित फूलमाला अर्पित गरेर काग तिहार मनाउने परम्परा छ । त्यसै गरी कागले हाम्रा सन्देशहरू प्रवाह गर्ने र कागलाई खाना खुवाउनु शुभ सङ्केत रहेको पाइन्छ ।