घडी र म
घडीसँगको मेरो सामिप्यता अनि प्रेम
जुरुक्क उठ्छु,पुलुक्क हेर्छु
पुलुक्क हेर्छु, माथि उक्लन्छु
तल झर्छु, पुलुक्क हेर्छु
यसो गर्छु, पुलुक्क हेर्छु
उसो गर्छु, पुलुक्क हेर्छु
लाग्छ मेरो आँखाबाट ओझेल पारेर उसलाई
म बाँच्नै सक्तिन
ओछ्यानदेखि ओछ्यानसम्म
एक-एक क्षणमा नजर मिलाउनु पर्छ ऊसँग
उसकै ईशारामा चलेकी छु
उसकै निर्देशनमा हिडेकी छु
उसको छुस्स- छुस्स आवाजसँगै
हराउँदै गएकी छु म
क्षण-क्षण, पल-पल
सिद्द्याउँदै गएकी छु आफूलाई
ऊ भने मख्ख छ
दिनको दुई पटक छोडिएको स्थान पुनः पाएर
तर म
मेरो गुमेको समय कहिल्यै पाउँदिन
मलाई पनि मन छ
तँ जस्तै छोडिएको बिन्दुमा फेरि पुग्ने
ए घडी ! मलाई पनि पुर्याइदे त्यहीँ
जहाँ
मैले समयको गतिसँगै गर्न नसकेका
गर्दागर्दै नभ्याएका
अन्जानवश छुटेका
कर्तव्य अनि देख्दादेख्दैको सपना पूरा गर्नु छ
कैयन गल्तीहरु सच्याउनु छ
कति निस्ठुरी! बनेर हेर्छस् तँ
समयले मेरो
बैँस अनि जवानी लुटेको
मलाई खक्रक्क र बिरसिलो अनि
निरसिलो शरीरमा रूपान्तरण गर्दै
दिनदिन मलाई हेरेर गिज्याउँदै गरेको
घडी तँ समयसँगै चल्छस् हगि?
अनि म पनि त चलिरहेकी छु
तर
तँ र ममा फरक छ नि
हेर् त मलाई
उकालो धकेलिरहन्छ समयले
शुष्क बनाउँदै शरीर
कुदिरहेकी छु म तँसँगै
तर
तेरो उद्देश्य समय चिनाउनु छ
मेरो उद्देश्य
समयसँगै हराउनु छ
विलिन हुनु छ
लोप हुनु छ
मृत्यु भेट्नु छ हर कुनै हालतमा
डरलाग्दो मृत्यु
जुन म चाहन्न
तर
भेटेर अँगालो हाल्नु छ
चुम्बन गर्नु छ
उसकै हुनु छ सदा-सदाका लागि
घडी तँ त घुम्दै त्यही बिन्दुमा आउँछस् नि?
तर म कहिल्यै आउने छैन
तेरो र मेरो प्रेम यहीँ टुङ्गिने छ
फेरि कहिल्यै मलाई तेरो आबश्यकता पर्ने छैन