चुनावप्रती अधिकाम्श जनतामा निराशा युवामा उत्साह जगाउन हर सम्भव प्रयास

Spread the love

     यहीँ आउँदो मंसिर ०४ गते हुन गईरहेको संघ तथा प्रदेशको निर्वाचनको लागि निर्वाचन आयोग, नेपाल सरकार तथा राजनैतिक पार्टीहरू आ आफ्नो दायित्व पूरा गर्न कम्मर कसेर लागेको देखिन्छ । जबजब जनताको घरदैलोमा नेताहरू दुई हात जोड्दै मत माग्दै पुग्छन तबतब गाउँघरसम्म चुनावको रौनक देखिन्छ तर जब नेताहरू आ आफ्ना गन्तव्यतर्फ लाग्छन जनताहरूका बीचमा जुन सम्बाद नजिकबाट सुन्न सकिन्छ कि जुन जोगी आए पनि कानै चिरेका, भोट जसलाई दिए पनि कुनै अर्थ छैन । जसरी पनि यिनै नेताहरू सत्तामा पुग्ने हुन अहिले हात जोड्दै आउछन् चुनाव जितेपछि त हामीलाई कसले पो फर्केर हेर्छन र ? हाम्रा समस्या हामीसँग नै रहन्छन् , बाढी आयो जनताकै घर खेत बगाउछ हेर्ने, सुन्ने कोही हुँदैन, पहिरो आउँछ परिवार सहित नै घर बगाउछ, कठैबरा भन्नेको जमात मात्र वरिपरि झुम्मीरहेको हुन्छ भोग्नु त आफूले नै पर्छ,  भूकम्पले भत्काएका घरहरू हेर्दै, गुमाएका आफ्न्त सम्झदै बाच्नुपर्छ, कसले पो के गर्न सक्छ ? कोरोना आउँछ घरका परिवारका सदस्यलाई छानीछानी लान्छ जिउनु त एक्लै पर्छ नै सहयोग गर्ने यो सन्सारमा को नै छ र! दाह सस्कार पनि एक्लैले गर्नुपर्छ त्यसै गरी डेङ्गु आउँछ परिवारका सदस्यलाई छानीछानी लान्छ, दु:खद समस्यामा एक्लै जुध्नुपर्छ सरकार त छ देशमा तर कहाँ छ थाहा छैन, न त दु:खमा साथ दिन्छ, न त देश बिकासमा लागेको देखिन्छ । भोट त प्रत्येक चुनावमा दिएकै हो तर प्रतिफल के निस्क्यो त देश प्रत्येक दिन, प्रत्येक हप्ता, प्रत्येक महिना, प्रत्येक साल, गनेर झनझन दलदलमा फस्दै गएको, भ्रष्टाचार, अनाचार, बेथितिमा डुबेको, राज्यका प्रत्येक अङ्गहरू दिनदिनै कमजोर बन्दै गएको, आर्थिक सङ्कटमा फस्दै गएको, मूल्य वृद्धि लगायतका समस्याले जनतालाई आक्रान्त पारेको, देशैभर महिला हिंसा बढ्दै गएको, हत्या र बलात्कारका घटनालाई कम गर्न नसकेको, घटनामा सम्पन्न भएकोमा जनताबाट समेत बराबर निगरानी गरेका घटनामा राज्यको उदासिनता रहेको जस्ता दृश्यहरू मात्र अगाडि आउछन् भने हाम्रो मतको के अर्थ ? मत दिएर बिगार्नु भन्दा मत नदिएर बिग्रनु नै ठिक पो हो कि भन्दै चर्चा गरेको सुन्न पाइन्छ । 
अर्कोतर्फ बुढाहरूलाई फाल्ने हो, नयाँ  जोस जागर भएका जागरुक युवाहरूलाई ल्याउने हो, स्वतन्त्रलाई खोज्ने हो भन्ने देखिन्छन् भने अर्काथरी यो ब्यबस्था नै ठिक भएन, यस्तो तरिकाले नेता र नेताप्रती उत्तरदायी हुनेहरूका लागि मात्र फलिफाप हुने भयो यस्तो पाराले त जनताको र देशको उन्नति प्रगति कहिल्यै हुन सक्दैन भन्ने मतहरू सुनिन्छ । 

त्यति मात्र कहाँ हो र? अर्काथरिले भन्दैछन देशलाई यस्तो बिकराल अबस्थामा ल्याएको त बुढा तथा भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूबाट यस्तो हुन गएको हो पार्टी र ब्यबस्था त ठिक छ तर त्यसलाई सुधार गर्न नयाँ जोश र जागर भएका युवाहरू नै अग्र पङ्तिमा आउनु पर्छ । र जनताले पनि त्यसै किसिमले मतदान गर्नुपर्छ भन्ने मतको आवाज सुन्न सकिन्छ र अर्कोतर्फबाट ब्यबस्था त ठिकै हो तर नेता ठिक भएनन् र पार्टी भन्दा स्वतन्त्रहरूले पो बिना दबाब आफ्नो तरिकाले काम गर्न पाउँछन् तिनीहरुलाई हेर्नुपर्छ यसपटक एकपटकको लागि स्वतन्त्र हेरौं देशको अबस्था फेरौ भन्दै आएकाछन, जस्ता कुराहरू जनतहरूको जन बोलिमा सुन्न पाइन्छ ।
भनौ भने के भनौ एउटै चुनाव क्षेत्रबाट एक पटक, दुइ पटक, तीन पटक , चार पटक, पाँच पटकसम्म जितेर पनि आफ्नो चुनावी क्षेत्रमा देखा नपर्ने, देखा परे पनि सामाजिक संजाल मार्फत मैले त यति धेरै काम गरे नि भनेर चुनाव प्रचार गरे जस्तै प्रचारबाजी गर्ने, जीत हासिल गरेपछि जनताको काममा ध्यान वास्ता नगर्नेहरू, आफ्नो क्षेत्रको बिकास नगर्नेहरू पनि अब एकपटक जिताईदिनुस यो क्षेत्रमा कायापलट गरिदिन्छु भन्दै आउनेहरूको कमी छैन त्यसकारण जनताले दु:ख गरेर ल्याएको लोकतान्त्रिक ब्यबस्थाको उचित संरक्षण गर्न सक्ने क्षमतावान नेताको चयन गरौं, यो चुनाव पाँच बर्षको लागि हो बीचमै आएर मलाई फेरि दुई तिहाइ चाहियो भन्ने गरी त्यस्ता नेताको छनोट नगरौं, यो चुनावले पाँच बर्षको स्थायित्व र भाबी पचास बर्षको योजना ल्याउन सक्ने सही नीति र नियममा आफू पनि चल्ने र अरुलाई पनि सोही नीति नियममा चलाउन सक्ने नेताको छनौट गरौं । आजको सानो गल्तीले भोलि पछुताउदै बस्ने दिनको निर्माण नहोस् । जसले जिते पनि यो ब्यबस्थामै जित्ने हो राम्रोको लागि स्थायित्वको लागी, बिकास र समृद्धिको लागि, देश र जनताको लागि काम गर्न सक्ने बलियो, निडर, सक्षम उम्मेदवारको खोजी गरौं र फेरि पनि समग्रको भलाई हुने ठाउँमा मात्र मतदान गरौं ।
धन्यवाद ।
लेखक – श्री पूर्ण चन्द्र चापागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *