“नेपाली काग्रेसकाे १४अैा महाधिवेसनमा महिलाकाे भुमिका”- देबकी गाैतम
✍नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनबाट देशैभर ६७४३ वडाहरु, ७५३ स्थानीय तह, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्र १ गरेर ८०७६ जना सभापति र त्यसको कार्यसमितिको निर्वाचन हुँदैछ र करिब १ लाखभन्दा धेरै संख्यामा साथीहरु कुनै न कुनै भूमिकामा आउनुहुने देखिन्छ । त्यसमा पार्टीको विधानले तय गरेअनुसारको सामान्यतया ४० हजारभन्दा बढी महिला साथीहरु कुनै नै कुनै भूमिकामा र नेतृत्वमा आउने खुड्किलो पार गर्दैछन् । सामाजिक, राजनीतिक अभियानमा एउटा इँटा थप्न आफ्नो यात्रा प्रारम्भ गर्नुहुने तमाम साथीहरुलाई यो जटिल यात्रामा सहजता मिलोस् ।
धर्तीकै सुन्दर पक्षी मयूर जसलाई हेरेर सारा जगत् मन्त्रमुग्ध हुन्छ, ऊ आफैँ भने जहिले पनि आफ्ना खुट्टा वा पञ्जा हेरेर चिन्ता मानिरहेको हुन्छ । सधैँ खुट्टा हेर्ने धुनमा उसले यो बिर्सन्छ कि ऊसँग यति सुन्दर पखेँटा छन्, जसले मयूरलाई संसारकै सुन्दर पक्षी बनाएको छ । सारा मानिस उसको रुपको प्रशंसा गरेर थाक्दैनन्, तर ऊ स्वयं आफू भने फेरि पनि खुट्टा हेरेरै चिन्तित भइरहेको हुन्छ । त्यस्तैझैँ हामी महिला सृष्टिका जननी, यो धर्तीका सुन्दर फूल जुन शब्दले सम्बोधन गरे पनि सबैभन्दा पहिला हामीले आफ्नो क्षमता चिन्न जरूरी छ । देवी, शक्ति, दुर्गा आदि विभिन्न नामले पुकारिएर मन्दिरको चार पर्खालभित्र शक्तिको प्रतीक मानिएकी नारी बाहिर निस्केपछि आफ्नो शक्तिलाई आफूले विश्वास नगरेकै कारण जहिले पनि समाजका हरेक क्षेत्रमा पछाडि परिरहेका छन् ।
कुनै पनि देशको वास्तविक अवस्था बुझ्न त्यो देशका महिलाहरुको राजनीतिक र सामाजिक अवस्था बुझ्नुपर्छ । त्यस्तै, कुनै राजनीतिक पार्टीको अवस्था बुझ्न पनि त्यो पार्टीभित्रको समग्र तहमा महिलाको सक्रिय सहभागिताको अवस्था बुझ्न जरूरी हुन्छ । विश्व इतिहासलाई हेर्ने हो भने पनि श्रीलङ्कामा चन्द्रिका कुमारातुङ्गा, पाकिस्तानकी बेनजिर भुट्टो, बंगलादेशकी बेगम खालिदा जिया, भारतकी सोनिया गान्धी, म्यानमारकी नेतृ आङ साङ सुकीजस्ता नयाँ पुस्ताका महिला नेतृत्वले आफ्ना राष्ट्रभित्रमात्रै नभएर विश्वसामु नै प्रभुत्व जमाएका छन् । समग्र नेपालको राजनीतिक ठूला–ठूला आन्दोलन र परिवर्तनमा महिलाको सहभागिता र भूमिका तारिफयोग्य छन् ।
नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भने पनि हिजो राणा शासनको ज्यादतीविरूद्ध आन्दोलनमा होमिएकी मंगलादेवी सिंह, नोना कोइराला, दिव्या कोइराला, सुशीला कोइराला, द्वारिकादेवी ठकुरानी हुँदै शैलजा आचार्यसम्म र उहाँहरुभन्दा पछिल्ला पुस्ताको योगदानलाई कम आँकलन गर्न सकिँदैन । विपी स्वयंले कयौँपटक यदि मलाई र कांग्रेसलाई कसैले राम्रोसँग बुझेको छ भने त्यो पात्र शैलजा आचार्य हो भनेर भन्नुभएको छ । तथापि, त्यसका बहुआयामिक पक्षका विषयमा छुट्टै चर्चाको विषय बन्न सक्ला । स्थापनाको सातौँ दशक पार गरिसकेको देशकै जेठो पार्टी नेपाली कांग्रेसभित्र पनि अब महिलाका योगदानलाई इतिहासमा पढ्नेमात्रै हैन, एउटा नयाँ इतिहास लेख्ने अवसरको सृजना गर्दै सानै ठाउँबाट वा तहबाटै भए पनि नेतृत्वमा महिलाहरुले उमेदवारी दिनुहोस् ।
आफूलाई यो समाजको नेतृत्व तहमा पुर्नेपुर्याउनु पर्ने हो भने त्यसका लागि सबैभन्दा पहिला दृढ सङ्कल्प बोक्नुहोस् र आफ्नो यात्रालाई साउनमा गड्गडाउने र चैत्रमा सुक्ने खहरेझैँ हुन नदिनुहोस् । बरू सानै स्वरुपमा किन नहोस्, हरेक परिस्थिति र यात्रामा भेटिने चट्टानलाई सके काटेर नसके त्यसैमाथि टेकेर नदीसमान लागिरहनुहोस् । सफलता एकदिन तपाईं हाम्रो पोल्टामा पक्कै आउँछ । जे कुरालाई तपाईं पूरा निष्ठाले चाहनुहुन्छ, प्रकृतिले पनि त्यसलाई पूरा गर्न तपाईंलाई साथ दिन बाध्य हुनछ । यो प्रकृतिको नियम पनि हो । तर, त्यसका लागि हाम्रो निष्ठा, धैर्यता र निरन्तरताको नदीलाई भने अविचलित र अविरल बगाइरहनुपर्छ, सुक्न दिनुहुँदैन ।
यो समय परिवर्तनशील छ, हामी २१औँ शताब्दीका महिला परिवर्तनका संवाहक । यहाँ हामीले पार्टीका र राज्यका हरेक तहमा आफ्नो उपस्थिति खोजिरहँदा हामीले आफूभित्रको क्षमतालाई निखार्नेतर्फ पनि ध्यान पु¥याउनु जरूरी छ । हामीले आफ्नो क्षमता र दक्षतालाई बढाउनेतर्फ ध्यान नदिईकन महिला भएकै कारणले मैले पाउनुपर्छ भन्ने कुतर्क राख्ने छैनौँ भन्नेतिर पनि हामी उत्तिकै सचेत छौँ । तर, हामीभित्रको क्षमतालाई परीक्षणको आरनमा राख्दै नराखी अयोग्य ठह¥याउने परिपाटीप्रति भने असाध्यै धेरै चित्त दुखाइ छ भन्ने कुरा मैले यो ठाउँसम्म आइपुग्दाका भोगाइबाट भनेँ भने त्यो पक्कै गलत हुनेछैन । आफूलाई पीपलको वृक्षजस्तो आफ्नो मुन्तिर केही नउम्रिने गरी सेप छोडेर हिँड्नेभन्दा विशाल सालको वृक्षझैँ आफूभन्दा पछाडि बग्रेल्ती बिरूवा उमारेर आफ्नो यात्रा तय गर्नेतर्फ पनि ध्यान दियौँ भने भोलिको दिनमा हरेक तहमा नेतृत्वमा उमेदवारी दिनसक्ने साथीहरुको खडेरीको महसुस गर्नुपर्ने छैन ।
अन्त्यमा, हामी महिलाहरु समाजका हरेक क्षेत्रमा अगाडि बढ्नका लागि आउनुहोस् तपाईं हामी मिलेर एउटा फरक सोचको विकास गरौँ ।१-१=० हैन, १ र १ दुई पनी नभएर १ र १ एघार बन्न सक्ने तागत हामीमा छ । आफूभित्र भएको अदम्य साहस र क्षमतालाई जाँच्नका लागि हनुमानलाई पर्वतबाट धकेलेर उनीभित्र भएको शक्तिको अनुभूति गराइदिएझैँ हाम्रो शक्तिको अनुभूति गराउन यो कलियुगमा कुनै इन्द्र देवता वा देवात्मा आउनेवाला छैन । तसर्थ, समय छँदै जागौँ । आफूसँग भएका पखेँटाको उपयोग गरेर यो सुन्दर धर्ती उत्तम बनाउने र पार्टीभित्र सक्षम र जुझारू पात्रहरु नेतृत्वमा पुग्न सक्ने सामथ्र्यको विकास गर्नेतिर लागौँ । पार्टीका सबै तह वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पनि सक्षम महिलाहरुले नेतृत्व तहमा उमेदवारी दिने र पार्टीको निर्णायक तहमा पुग्न सक्ने परिवर्तनको संवाहकको एउटा महाउत्सवको रुपमा यो १४औँ महाधिवेशनलाईं लिनसक्ने सामथ्र्य देशैभरि छरिएर रहेका तमाम नारी शक्तिलाई प्राप्त होस् भन्ने सम्पूर्ण साथीहरुलाई शुभकामना । जय नेपाल !