गुलाफको बयान
“गुलाफको बयान” :-
गञ्जागोल यो मान्छेको शहरमा
सदीयौँदेखि म चुँडिनु बाहेक
केही छैन मेरो जीवन
विनाश र खती बोकेका नराधम मान्छेले
एकाएक टिपे मलाईं
र फाले प्रवाहै नगरि।
म गुलाफ
सेतो हिमाल झैँ खुल्न सकिनँ
बिहानी लाली घाम झैँ खुल्न सकिनँ
नीलिमा आकाश झैँ फैलन सकिनँ
वासन्ती मधुमास झैँ सुवास छर्न सकिनँ
कुटिल विवेकहीन हातबाट
खुनी व्यभिचारी हातबाट
चुँडिएँ सधैँ सधैँ
बलात्कृत भएँ उनैबाट
कहिले मिलन भनेर
कहिले बिछोड भनेर
कहिले उत्सव भनेर
साह्रै सताए मान्छेले
यो गञ्जागोल शहरमा।
सदीयौँदेखि लिइदैछ
मेरो बयान
खुल्ला इजलाशमा
बन्द इजलाशमा
मैले न्याय पाइनँ
कहिले उँखुबारीमा फालिएँ
कहिले सेती बगरमा फालिएँ
कहिले बुट्यान झाडीमा
मेरो बिन्ती
ए मान्छेहरु हो
म गुलाफ हुँ
मलाई गुफाफ भएर फुल्न देउ।