ज्यानको बदलामा राहात

Spread the love

माडी तथा मध्यवर्ती क्षेत्रका जनता बाघ लगायतका जङ्गली जनावरबाट पटकपटक ज्यानै गुमाउनुपरेको उदाहरण हालै चितवन माडीको भैरबपुरका सुर्यनाथ अधिकारीको मृत्युले पनि पुष्टि गरेको छ । सट्टामा मध्यवर्ती समूह, निकुञ्ज प्रशासन तथा सरकारबाट केही रकम राहत स्वरुप प्रदान गर्ने गरिए पनि यस्ता समस्याहरूको स्थायी समाधान खोजिएको देखिदैन ।
बाघको आक्रमणमा परी मृत्यु भएका माडी भैरवपुरका सुर्यनाथ अधिकारीको परिवारलाई क्रियाखर्च स्वरुप माडी नगरपालिकाले २५ हजार रुपैंया दिने भएको छ ।
माडीका कार्यबाहक नगरप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा नगर कार्यपालिका भवनमा सम्पन्न बैठकले बाघको आक्रमणमा परी मृत्यु भएका अधिकारी परिवारप्रति समवेदना व्यक्त गर्दै तत्कालै क्रियाखर्च स्वरुप २५ हजार रुपैंया दिने निर्णय गरेको हो ।
नगर कार्यपालिका, माडीका मध्यवर्ती उपभोक्ता समितिहरु र घटनाका पीडित परिवारबिच सम्पन्न सो बैठकले पीडित परिवारको राहतका लागि ५ लाख रुपैंया दिन कार्यपालिकालाई सिफारिस गर्ने र चितवन राष्ट्रिय निकुञ्जबाट १० लाख रुपैंया राहत उपलब्ध गराउन पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले पहल गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले घटनास्थल अमिलिया गाउँ क्षेत्रमा झाडी बढ्दा जोखिम बढेकाले त्यसलाई फाँड्ने र सि.सि.टि.भी. सहितको प्राविधिक टोलीले फिल्ड अनुगमन गरी बाघ अन्यत्रै स्थानान्तरण गर्ने एवं घटना क्षेत्रको दीर्घकालीन विकास अगाडि बढाउने पहल गर्ने निर्णय गरेको कार्यबाहक नगरप्रमुख महतोले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *