भरतपुरमा अटोल्याण्डको अवधारणा अघि बढाउनुपर्छ : राज्यमन्त्री श्रेष्ठ
नेपाल सरकारका राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटोल्याण्ड निर्माण गर्न आग्रह गर्नुभएको छ । चितवन अटो मेकानिकल व्यवसायी संघको रजत महोत्सवको कार्यक्रम समापन गर्दै उहाँले महानगले अटोल्याण्ड निर्माणका लागि जग्गा छिटै उपलब्ध गराउनुपर्ने बताउनुभयो । भरतपुरलाई सुन्दर बनाउन व्यवस्थित अटोल्याण्डको आवश्यकता देखिएको बताउनुभयो ।उहाँले चितवनमा अटोमोबाइल्स र अटोमेकानिकल सर्भिस छिटै हुन्छ भन्ने ब्राण्डिङ गर्नुपर्नेमा जोड दिनुभयो । दक्ष जनशक्ति समेत उत्पादन गर्न अटोमेकानिकल व्यवसायीहरु सक्रिय हुनुपर्ने बताउनुभयो । भरतपुर महानगरका उपयमेयर चित्रसेन अधिकारीले अटो ल्यान्ड निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । अटो ल्याण्ड निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र डिपिआर अन्तिमचरणमा रहेको बताउनुभयो ।नेपाल अटो मेकानिकल व्यवसायी महासघका अध्यक्ष जनार्दन गैरेले अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्ने बताउनुभयो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अटो मेकानिकल ब्यवसायी एक हुनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा अटोमेकानिकल व्यवसायीमा योगदान पुयाएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । रजत स्मारिकाको पनि विमोचन गरिएको थियोे । संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो ।