हसाउन सकिन- सुमित्रा डल्लाकाेटि

Spread the love

तिमी जननी हौ
तिमिभित्रको मातृवासल्य
तिम्रो त्याग
तिम्रो सन्तानको लागि संघर्ष
जीवनको उकाली ओरालीका
दर्दनाक कथाहरु
राम्रोसँग अनुभुति गरेकी छु
म पनि त आमा हुँ
मातृत्वका अथाह छालहरु
कसरी नजरअन्दाज गर्नसक्छु र?

मुस्कुराउनु सँधै तिमी
तिमी मुस्कुराएको देख्न चाहन्छु
फूलेको फूल जस्तै खुल तिमी
तिम्रा अधुरा इच्छाहरु
पूरा गर्न चाहन्छु
निस्वार्थ प्रेमकी देवी हौ
मातृत्वकी खानी हौ
प्रेमकी पुजारी हौ तिमी
ऋणी छु म तिम्रो
मलाई जीवनको बलियो लठ्ठी
उपहार दिएकी छौ

तर
कुनै सामन्ती साहुबाट लिएको
चक्रीय ब्याजको ऋणजस्तो
चुक्ता गर्न गाह्राे छ मलाई
एक एक दुखको हिसाब गरेर
मबाट असुल गर्न खोजेपछि
पक्कै यो सुन्दर अनुहारमा
बादल त्यसै लाग्दैन
पक्कै खोट छ मभित्र
दोषी मै हुँ
तिम्रो अन्तरमन बुझ्न सकिन
तिमीलाइ मायाको सहस्र धारामा
नुहाइदिन सकिन।
तिम्रा सपना पूरा गर्न सकिन
माफी माग्छु म तिमीसँग
तिमीलाइ मैले हसाउन सकिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *